‘ठूला उद्योगीलाई काखा, सानालाई पाखा’



हेटौंडा, (नेस)
सरकारले ठूला उद्योगीलाई काखा र साना उद्योगीलाई पाखा लगाउने गरेको हेटौंडाका उद्योगीले गुनासो गरेका छन्।उद्योग संघ मकवानपुरको आयोजनामा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका नवनिर्वाचित अध्यक्षसहितलाई हेटौंडामा गरिएको सम्मान कार्यक्रममा यस्तो गुनासो गरिएको हो।

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका नवनिर्वाचित अध्यक्ष माधव अधिकारीले सरकारले औद्योगिक क्षेत्रभन्दा बाहिरका ठूला उद्योगीलाई सबैखाले सुविधा दिए पनि औद्योगिक क्षेत्रभित्रका साना उद्योगीलाई नहेरेको आरोप लगाउनुभयो। अहिलेको समयमा औद्योगिक क्षेत्रभित्रका उद्योगलाई प्राथमिकताका आधारमा सहयोग गरिनुपर्ने उहाँले बताउनुभयो। सरकारबाट उद्योगीले सहयोग नपाएको उहाँको गुनासो छ। औद्योगिक क्षेत्रमा रहेर सरकारलाई अर्बौं रुपियाँ कर तिर्दा पनि सुरक्षा, पानी र बत्तीलगायत पूर्वाधारको पर्याप्त सुविधा नदिएको नवनिर्वाचित अध्यक्ष अधिकारीले बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले औद्योगिक क्षेत्रमा नयाँ उद्योग भित्त्याउने वातावरण तयार गर्न आफूहरू लाग्ने बताउनुभयो। सरकारले अब ल्याउने बजेटमा आर्थिक कुरा बढी समेट्नुपर्ने उहाँको भनाइ छ। औद्योगिक क्षेत्रभित्रका समस्या हेर्न आफूहरूले सरकारलाई घच्घच्याउने उहाँको भनाइ छ। कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य श्रीहरी मास्केले नेपालभरका उद्योगीका समस्या समाधान गर्न सरकारले काम गर्नुपर्ने बेला आएको बताउनुभयो। उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले हेटौंडाका उद्योगीका समस्या समाधान गर्न नवनिर्वाचित कार्यसमिति लाग्नुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्