ठीक लाग्दा नेता…



धरहरा आफ्नो दुरबिन सोझ्याउँदै जँँदा हिजो आइतबार एउटा सत्तारुढ दलका शीर्षनेताको निवासमा गएर टक्क अडियो। किनकि त्यहाँ बाहिर बजारमा आएको भन्दा अलि फरक वाणी प्रकट भइरहेको थियो। त्यहाँ मेयर र उपमेयरको दावी गर्दै एक थान जिल्ला स्तरीय कार्यकर्ता पुगेका रहेछन्। उनीहरू ‘लौ न हजुर गर्दिनुभयो भने हाम्रो पार्टीले जित्ने पक्का छ’ भन्दै थिए। शीर्षनेताको वाणी आयो– ‘अहिले टिकटसिकटका कुरा नगर न यार। अहिले कहाँ चुनाव हुन्छ ? हुने बेला भएपछि दिउँला नि किन चिन्ता गर्छौ ?’

पाठकबृन्द, हामी पनि धेरै सोझा भयौं कि के हो ? अस्ति मध्यरातमा भएको सहमतिअनुसार फ्याटफ्याट चुनाव होला र मतदान गरेर आफूलाई मन परेका पार्टी वा उम्मेदवारलाई कुर्सीमा पुर्याउँला भन्ने सोचेका हौंला। तर, कहाँ त्यस्तो हुन्थ्यो ? यहाँ त कुरा अलि गडबड पो देखियो।

मधेसी मोर्चाले वैशाख ३१ भित्रमा नै स्थानीय निकायको हेरफेर र संविधान संशोधन उसले भनेअनुसार नगरे चुनावमा भाग नलिने भन्ने शर्त राखेको छ। त्यो पनि लिखित होइन मौखिक। अब त्यो मौखिक कुरा तोडमरोड गर्न दुवै पक्षलाई कुनै आइतबार वा सोमबार पर्खनुपर्दैन। सहमति गर्ने पक्षसँग संविधान संशोधनका लागि आवश्यक मत पनि पुग्दैन। अनि अहिले नै टिकट माग्ने कार्यकर्तालाई ती नेताले पनि के भनुन् बिचरा⁄ नेता ठीकै लाग्यो है पाठकबृन्द यो धरहरालाई पनि।

प्रतिक्रिया दिनुहोस्