प्रदर्शनमा ट्यांक रोक्ने साहसी महिला



काराकास, (एजेन्सी)
भेनेजुयलामा सरकार विरोधी प्रदर्शनले व्यापकता लिइरहेकै बेला दंगा नियन्त्रणका लागि परिचालित एक ट्यांकलाई एक महिलाले साहस पूर्वक रोकेको घटनाले विश्वभरि चर्चा पाइरहेको छ। अश्रु ग्यास प्रहारका बाबजुद ती महिला ट्यांक अगाडीबाट हटेका थिएनन्।

राष्ट्रपति निकोलस माडुरोको आर्थिक नीतिहरूबाट रुस्ट नागरिक काराकास शहरको फ्रान्सिस्को फगार्डो मार्गमा प्रदर्शन गरिरहेका थिए। प्रहरीसँगको मुठभेडको स्थितिमा रहेका प्रदर्शनकारी नियन्त्रणका लागि परिचालित एउटा ट्याँक अगाडि सबैलाई आश्चर्यचकित पार्दै एक महिला उभिन पुगेकी थिइन्। ट्यांकको मार्ग रोक्न र त्यसलाई केही पछाडि हट्नसमेत बाध्य पारेकी ती महिलालाई सामाजिक सन्जालमा ‘विरंगाना’ र साहसीको संज्ञा दिएको छ।

केहीले उनलाई गैरजिम्मेवार भनेका छन् भने केहीले उनलाई लेडी लिबर्टी भनेका छन््। देशको झन्डा घाँटीमा बेरेकी ती महिलाले झन्डाकै रङको टोपी लगाएकी थिइन्। प्रदर्शनका क्रममा सुरक्षा बल नजिकै शान्त बसिरहेकी ती महिला प्रदर्शनकारीले राखेको अवरोध हटाउन अगाडि बढेको ट्यांकको अगाडि उभिन पुगेकी थिइन्। ट्यांक पछाडि हट्दै गएपछि उनी पनि अगाडि बढदै गएको एक प्रत्यक्षदर्शीले बताए। यसअघि सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेका थिए।

केही समयपछि मोटरसाइकलमा आएका प्रहरीले उनलाई त्यहाँबाट हटाएका थिए। उनलाई मोटरसाइकलमा दुई प्रहरीको बीचमा राखेर लगेको थियो। एक टेलिभिजन पत्रकारले इन्स्टाग्राममा उनी सुरक्षित भएको र घर पुगिसकेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्