शेयर बजारका लगानीकर्ताले ५० अर्ब कमाए



नेपाल समाचारपत्र
काठमाडौं
जनीतिक दलहरूबीच सहमति भई स्थानीय तहको निर्वाचन हुने भएपछि पुँजी बजारका लगानीकर्ताहरू उत्साहित भएका छन्। पुँजी बजारमा लगानी गर्न लगानीकर्ताहरू उत्साहित हुँदा नेपाल स्कट एक्सचेन्ज (नेप्से) धेरै पछि उच्च अंकमा बढेको छ। नयाँ वर्षको शुरूआतसँगै निराश भएका लगानीकर्ताहरूलाई शनिबार राती दलहरूबीच भएको सहमतिले उत्साहित बनाएको हो।

साताको पहिलो दिनको कारोबार शुरू भएको १० मिनेटमा तीन प्रतिशतले वृद्धि हुँदै सर्किट ब्रेकर लागेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो। बजारमा लगानीकर्ताको चाप बढिरहेको अवस्थामा नेप्सेको प्रणालीमा समस्या आएपछि फेरि केही बेर कारोबार रोकिएको थियो। जसका कारण नेप्सेले कारोबार समयलाई २५ मिनेट थप गरी ३ बजेर २५ मिनेट जाँदासम्म सञ्चालन गरेको थियो।

पछिल्लो समयमा केही सुधारिएको बजार ३५ दशमलब ३८ अंकले वृद्धि हुँदै १६९३ दशमलब ७२ अंकमा पुगेको छ। आइतबार कुल १४२ कम्पनीको १ अर्ब ५३ करोड रुपियाँमा २२ लाख २० हजार १७५ कित्ता शेयर किनबेच भएको छ। यस दिन समग्र बजार पुँजीकरण ५० अर्ब रुपियाँले बढेर १९ खर्ब ६२ अर्ब रुपियाँ पुगेको छ।

आइतबारको कारोबारमा बीमा समूह ३१८ अंक, उत्पादन समूह ३५ अंक, बैंकिङ समूह ३१ अंक, विकास बैंक समूह ३० अंक, जलविद्युत् समूह २६ अंक, फाइनान्स समूह १४ अंक, अन्य समूह १० अंक र होटल समूह २ अंकले बढेको नेप्सेले जनाएको छ। समग्र परिसूचक बढेको दिन आइतबार माउन्ट मकालूको सबैभन्दा बढी ६ प्रतिशत, नविल ब्यालेन्स फन्डको ५ प्रतिशतले मूल्य घटेको छ भने राष्ट्रिय बीमा कम्पनी र कर्णाली विकास बैंकका लगानीकर्ता धेरै कमाउनेमा परेका छन्। यस दिन प्रभु बैंकको ७ करोड ६१ लाख रुपियाँको कारोबार अग्रस्थानमा रहेको छ। त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको ६ करोड ६० लाख, युनाइटेड इन्स्योरेन्सको ६ करोड ११ लाख, नेसनल लाइफ इस्योरेन्सको ५ करोड ५८ लाख, सिद्धार्थ बैंकको ५ करोड ४३ लाख तथा प्राइम लाइफ इन्स्योरेन्सको ५ करोडको कारोबार भएको छ। यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलब ३८ अंकले वृद्धि हुँदै ३६५ दशमलब ४१ अंकमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्