जिग्री र पाँडेले सप्तरीका दृष्टिविहीनका लागि घर बनाइदिँदै



सप्तरी, (नेस)। हास्य कलाकारद्वय कुमार कट्टेल र अर्जुन घिमिरेको जिग्री–पाँडे प्रतिष्ठान नेपालले सप्तरीमा तीन दृष्टिविहीन परिवारका लागि घर निर्माणकार्य शुरु गरेको छ। कुमार र अर्जुनको पहलमा सप्तरीको गम्हरिया प्रवाहामा रहेका अति विपन्न तीन दृष्टिविहीन परिवारका १७ सदस्यका लागि घर निर्माण शुरु गरिएको हो।

घरको शिलान्यास हास्य कलाकार दम्पती तथा समाजसेवीद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गरेका हुन्। शिलान्यास गर्दै सीताराम कट्टेलले जिग्री–पाँडे प्रतिष्ठानबाट राम्रो कार्यको शुरुआत भएको र सामाजिक कार्यमा आउने दुःखहरूबाट हरेस नखाई निरन्तर अघि बढ्न सल्लाह दिए। ‘काम गर्न निकै चुनौतीपूर्ण छ। धेरै बाधाअर्चन खेप्नुपर्छ। यी कुरालाई मनन गर्दै काममा अघि बढ्नु। काम गर्दै जाँदा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नू। किनकि मैले तीन⁄तीन वटा बस्ती निर्माण गर्दा भोगेको छु, सीतारामले उक्त गाउँका दृष्टिविहीनहरूसँग त्यहाँको अवस्थाबारे बुझ्दै भने– ‘यहाँको परिस्थिति देख्दा मन थाम्न सकिएन। दर्दनाक पीडा बोकेको यो परिवारलाई उद्धार गर्न लागेका मेरा भाइ चेलाहरू तथा जिग्री–पाँडे प्रतिष्ठानलाई मेरो तर्फबाट हर किसिमको सहयोग हुनेछ।’

कुमार र अर्जुनले दृष्टिविहीनहरूको समाचार पढेपछि आफूहरूलाई सहयोग गर्ने इच्छा भएर राजविराजमै आएको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले जानकारी गराए। करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकाले सहयोगी मनहरूलाई सहयोग गरिदिनका लागि प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले अनुरोध गरेका छन्। उनीहरूले १५ लाखमा तीन घर निर्माण गर्ने र बाँकी १५ लाख उनीहरूको स्वस्थ्य उपचार तथा शिक्षामा खर्च गर्ने बताएका छन्। अभियानमा प्रतिष्ठानसँगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेशप्रसाद शाह पनि सहयोगमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्