रश्मी थापा

कुनै पनि फिल्म उत्कृष्ट बन्नुमा पर्दामा देखिने कलाकारको जति हात हुन्छ, पर्दापछाडि रहेर काम गर्ने कलाकारको पनि त्यतिकै हात हुन्छ। यसमध्ये छायांकन कला पनि एक हो।

नेपाली फिल्मी क्षेत्रमा छोटो समयमै सफल छायाँकारको छवी बनाउन सफल नाम हो चितवन मेघौलीका रामेश्वर कार्की। जन्मस्थान पोखरा भए पनि सानै उमेरमा चितवन बसाइँ सरेका उनले आफ्नो करिअरको शुरुआत पनि चितवनकै स्थानीय टेलिभिजनबाट गरेका थिए। ‘चितवनमा हामी आफैंले सञ्चालन गरेको नारायणी च्यानलमा काम गर्ने क्रममा कार्यक्रम प्रस्तोतातर्फ आकर्षित भएँ। त्यहाँ जनशक्तिको अभाव हुने भएकाले सबैजसो काम गर्नुपर्थो। कार्यक्रम प्रस्तोता, क्यामेराम्यानलगायत सबै काम गरियो’, रामेश्वरले सुनाए– ‘यही क्रममा क्यामेरा चलाउन केही हदसम्म सफल हो कि भन्ने लाग्यो। यसैबाट केही गर्न सक्छु भन्ने लाग्यो। त्यसपछि म इन्डिया गएँ। त्यहाँ विभिन्न सिरियलमा असिस्टेन्ट क्यमेराम्यानको रूपमा काम गरें। ४ वर्षको इन्डिया बसाइमा कसौटी जिन्दगीकी, कस्तुरी, केसरी केशरलगायतका सिरियलहरूमा काम गरें। त्यहीं निर्देशक नारायण पुरी दाइसँग भेट भयो। त्यति बेला उता सिरियलको काम पनि बन्द थियो। ३⁄४ महिनासम्म काम बन्द भएकाले के गर्ने भन्ने सोचिरहेको थिएँ। नारायण पुरीकै सल्लाहमा नेपाल फर्किएँ र उहाँकै सल्लाह र प्रेरणामा काम गर्न थालें। पहिलोपटक नारायण दाइहरूले नै निर्माण गर्नुभएको साइनो कस्तो कस्तो भन्ने सिरियलबाट करिअर स्टार्ट गरें, पछि त्यो सिरियल तराई टेलिभिजनबाट प्रसारण भयो।’

भारतीय टेलिसिरियलमा असिस्टेन्ट क्यामेराम्यानको रूपमा काम गरी अनुभव बटुलेपछि आफ्नै देशका सिनेमाहरूमा उता सिकेका ज्ञान प्रयोग गरेका उनले हासम्म आफ्नै मनलाई सोधी हेर, शौर्य, भनिदेउ न माया गर्छु, दुलही, मेरो जीवन साथी, नशा, ए फर अमेरिका, सन्त्रास, गुड लक, रक्षा, सम्बोधन, कैफियत, ३ घुम्ती, सुश्री, सायद, दर्पण छायाँ–२, जय पर्शुराम, अलबिदा, रोमियोलगायत २ दर्जनभन्दा धेरै फिल्मका साथमा विभिन्न टेलिसिरियल, २ दर्जनभन्दा बढी म्युजिक भिडियो तथा साढे दुई दर्जन विज्ञापनहरूको छायांकन गरिसकेका छन्। उनले छायांकन गरेको पहिलो फिल्म आफ्नै मनलाई सोधी हेर हो भने दुलही फस्ट रिलिज्ड फिल्म हो। ‘कन्टिन्युसली यहीं काम गर्न थालेपछि मुम्बई भुलियो। तर, मुम्बई जाँदा पनि उतै जम्नेभन्दा पनि नेपाल फर्केर आउँछु नै भन्ने सोच थियो। अहिलेसम्मको अनुभवबाट एउटा सफल क्यामेराम्यान बन्नका लागि डाइरेक्टरको प्वाइन्ट अफ भ्यु बुझ्न जरुरी छ। तर, कतिपय अवस्थामा डाइरेक्टरले क्यामेराम्यान बनाउने होइन क्यामेराम्यान बनाउनुपर्ने अवस्था देखेको छु। कतिपय डाइरेक्टरलाई त उल्टै गाइड गर्नुपरेको अनुभव पनि छ’ –रामेश्वरले भने।
रामेश्वरालाई काम गर्न आफ्नै देशमा सजिलो लागे पनि कमाई र प्रविधिक सम्पन्नताको हिसाबले भने मुम्बईमै काम गर्न सजिलो लागेको रहेछ। ‘मुम्बईमा सिरियलमा असिसटेन्ट भएर काम गर्नु र यहाँ फिल्ममा काम गर्नुमा पनि उताकै कमाइले जित्छ। प्रविधिको हिसाबमा पनि उता हामीभन्दा निकै सम्पन्नता छ। उता डाइरेक्टरले जे सोच्छ त्यही हुन्छ, तर हामीकहाँ जे उपलब्ध छ त्यही गर्नुपर्छ’, रामेश्वरले शेयर गरे– ‘केही समयअघि हलिउडका एजे नामक निर्देशकसँग फिर्ली नामक सर्ट मुभीमा काम गरेको थिएँ। काम गर्दै जाँदा छायाँ अलि पर सरेको थियो। उनले अर्को दिन सुटिङ गर्ने भने। मैले सूर्यको डिरेक्सन पनि चेन्ज भएको छैन भनेर जस्ताको सहारामा त्यही ठाउँमा छायाँ पारेर काम गर्ने भनेर छायाँ पारिदिएँ तर पनि उनले त्यो सिन लिन मानेनन्। उनीहरू हरेक कुराको डिटेलमा जान्छन्, तर हामी त्यसो गर्न सक्दैनौं। किनभने हामीकहाँ त्यो तरिकाले काम गर्न बजेटको अभाव छ।’

सधै पर्दापछाडि काम गर्ने उनी कुनै बेला हिरो बन्ने सपना बोक्थे। काम गर्दै जाँदा आफ्नो सामथ्र्य छायांकनमा भएको पाएपछि यो पेसामा पसेको उनी बताउँछन्। ‘चितवनमा च्यानलमा काम गर्दा पनि मैले आफ्नो स्ट्रेन्थ अरूमा भन्दा क्यामेरामा बढी भएको पाएँ। अलि छिट्टै नै आफ्नो क्षमता केमा छ भनेर पनि चिनेजस्तो लाग्यो। पर्दामा अनुहार बिक्छ भने पर्दापछाडि कामको भ्यालु हुन्छ। केही कलाकारलाई छोडरेर हेर्ने हो भने कमाइचाहिँ पर्दापछाडि नै बढी पाएको छु –रामेश्वर भन्छन्।

विश्कै दोस्रो सिनेमा उद्योग बलिउडमा कामको अनुभव बटुलेका उनी नेपालमा नयाँ–नयाँ प्रविधि भित्रिए पनि त्यससम्बन्धी ज्ञानको अभाव रहेको बताउँछन्। ‘उता हेरेर यता हेर्दा इकुपमेन्टहरूको पनि कमी लाग्छ। तर, कुनै पनि सामान जस्तै क्यामेरा नयाँ भित्रिन्छ भने पनि त्यससम्बन्धी ज्ञान लिनका लागि युट्युब र गुगलको भर पर्नुपर्छ। बरु क्यामेराम्यानहरूबाट नै केही चार्ज उठाएर भए पनि नयाँ सामान र प्रयोग गर्ने प्रविधिबारे ज्ञान दिनुपर्ने जरुरी छ। साथै नयाँ सामान आएपछि एक्जिवेसनमा राख्नुपर्छ। क्यामेरा नयाँ आएसँगै त्यसलाई आवश्यक पर्ने लेन्सदेखि लिएर अन्य सामग्री पनि सहजै उपलब्ध हुने व्यवस्था हुनुपर्छ। यसका लागि चलचित्र प्राविधिक संघ होस् या निर्देशक समाज एकै भएर यस्ता समस्याहरू आउन नदिन प्रयास गर्नुपर्छ’ –उनी भन्छन्।

LEAVE A REPLY