दलहरू उम्मेदवार छनौट गर्दै



चिरञ्जीवी मास्के⁄दोलखा

निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल कायमै रहे पनि दोलखाका प्रमुख राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम छनौट गर्न थालेका छन्।

दुई नगरपालिका र सात गाउँपालिका भएको दोलखा जिल्लामा नेपाली कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा प्रमुख पदको उम्मेदवारको नाम छनौट गरेको छ। नेपाली कांग्रेस दोलखाले भीमेश्वर नगरपालिकामा महासमिति सदस्य एवं तरुण दलका पूर्वकेन्द्रीय सचिव ईश्वर मानन्धरलाई प्रमुखका लागि चयन गरेको छ। त्यसै गरी जिरी नगरपालिकामा सोनाम शेर्पालाई उम्मेदवार बनाउने जनाएको छ। नेपाली कांग्रेसले बैतेश्वर गाउँपालिकामा छवि लामा, मेलुङ गाउँपालिकामा बर्मा लामा, बिगु गाउँपालिकामा श्यामराजा खड्कालाई प्रमुखमा उम्मेदवार बनाउने नेपाली कांग्रेसका सचिव सन्तोष रिमालले बताए। त्यसै गरी तामाकोसी गाउँपालिकामा भवेन्द्र कार्कीलाई प्रमुख र सिर्जना सुवेदीलाई उपप्रमुखको उम्मेदवार बनाउन लागेको सचिव रिमालले बताए। नेपाली कांग्रेसले कालिञ्चोक, शैलुङ र गौरीशङ्कर गाउँपालिकामा भने उम्मेदवार छनौट गरेको छैन। त्यसै गरी कतिपय गाउँपालिकामा उपप्रमुख पनि छनौट गरेको छैन।

माओवादी केन्द्रसँग तालमेलका लागि छलफल चलिरहेकाले तीन गाउँपालिकामा प्रमुख र अन्य केही गाउँपालिकामा उपप्रमुखको नाम छनौट भइनसकेको सचिव सन्तोष रिमालले बताए। वैशाख १५ गतेसम्ममा भने सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारको नाम सार्वजनिक भइसक्ने सचिव रिमालको
भनाइ छ।

माओवादी केन्द्रले जिरी नगरपालिकामा प्रमुख गेल्बु शेर्पा, शैलुङ गाउँपालिकामा रिमालबाबु श्रेष्ठ, कालिञ्चोक गाउँपालिकामा गोपाल पाण्डे र कुलबहादुर बुढाथोकीमध्ये एकलाई उम्मेदवार बनाउने जनाएको छ। त्यसै गरी बैतेश्वर गाउँपालिकामा प्रमुख रविचन्द्र आर्चाय र उपप्रमुख हिमाली गोले तथा गौरीशङ्कर गाउँपालिकामा निमा लामा वा छिरिङ शेर्पामध्ये एकलाई उम्मेदवार बनाउने जनाएको छ। अन्य गाउँपालिका र नगरपालिकामा भने नेपाली कांग्रेससँग तालमेलका लागि छलफल चलिरहेकाले नाम छनौट भइनसकेको माओवादी केन्द्रले जनाएको छ।

त्यसै गरी राप्रपाले भीमेश्वर नगरपालिकामा प्रमुखमा पत्रकार राजन शिवाकोटी, जिरी नगरपालिकामा प्रमुखमा रामकाजी खड्का र उपप्रमुखमा फेसीमाया जिरेल, बिगु गाउँपालिकाको प्रमुखमा पार्टी अध्यक्ष सुन्दरप्रकाश खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजनबहादुर शिवाकोटीले बताए। नेकपा एमालेले आज बेलुकासम्म सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारको नाम छनौट गरिसक्ने उपाध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्