गोरखाका आठ गाउँपालिकामा माओवादीका उम्मेदवार चयन



गोरखा, (नेस)
माओवादी केन्द्र गोरखाले जिल्लाका आठ गाउँपालिकामा उम्मेदवार चयन गरेको छ। गाउँपालिका समिति, जिल्ला समिति र प्रदेश समितिले एक गाउँपालिका र दुई नगरपालिकाबाहेकका सबै उम्मेदवारको छिनोफानो गरेको हो।

पार्टीका कार्यालय सचिव अकुर तिमिल्सिनाका अनुसार धार्चे गाउँपालिकाको प्रमुखको उम्मेदवारमा सूर्य गुरुङलाई चयन गरेको छ। उपप्रमुखमा आशा गुरुङलाई चयन गरेको छ। त्यस्तै आरुघाट गाउँपालिकाको प्रमुखको उम्मेदवारमा जगन्नाथ खनाल र उपप्रमुखमा अमृता लामालाई यकिन गरेको छ। भीमसेन गाउँपालिकाको प्रमुख पदमा लोकप्रसाद बञ्जरा र उपप्रमुखमा लीला श्रेष्ठको उम्मेदवारीलाई सदर गरेको छ। त्यस्तै सुलीकोट गाउँपालिकाको प्रमुखमा विष्णु भट्ट र उपप्रमुखमा सनमाया गुरुङ, अजिरकोट गाउँपालिकाको प्रमुखमा दीपक देवकोटा र उपप्रमुखमा अनिता भुजेलको नाम सिफारिस गरेको छ। सिरानचोक गाउँपालिकामा नवराज पुडासैनी, गण्डकी गाउँपालिकामा दीपक तिमल्सिना र उप्रमुखमा पूर्णा थापा र सहिद लखन गाउँपालिकाको प्रमुखमा रमेश थापा र उपप्रमुख पदमा इन्दिरा तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। चुम नुब्रीमा तीन जनामध्ये कसलाई उम्मेदवार बनाउने भन्नेबारे अझै टुंगिएको छैन। निमा लामा, लाक्पाडुण्डप लामा र रामकुमार गुरुङको कडा प्रतिस्पर्धा भइरहेको पार्टी स्रोतले जनायो।

त्यस्तै पालुङ्टार नगरपालिकामा पनि गुणराज देवकोटा, मदन देवकोटा र विकास वाग्लेमध्ये साझा नाममा सहमति बन्न सकेको छैन। त्यस्तै उपप्रमुखमा पम्फा बसेल, बन्दला पाण्डे र निर्मला मल्लबीच सहमति बन्न नसकेको हो। गोरखा नगरपालिकामा पनि लेखबहादुर थापा र कृष्ण रानाको बीचमा सहमति बन्न नसकेको र उपप्रमुखमा कञ्चन कुमाल र रामाया श्रेष्ठको बीचमा साझा नाम आउन नसकेको अकुर तिमिल्सिनाले बताए। शनिबार सम्बन्धित गाउँपालिकामा औपचारिक कार्यक्रम गरी उम्मेदवारको नाम घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्