सडक अवरुद्ध हुँदा सेवाग्राही मर्कामा



मुगु, (नेस)
जिल्लाको खत्याड गाउँपालिकाको कालाकाँडा खमाले गम्था सडक खण्ड दुई सातादेखि अवरुद्ध भएको छ। कनका सुन्दरी गाउँपालिकास्थित लुमा गाउँका स्थानीयले आफूमाथि अन्याय भएको भन्दै सडक बन्द गरेपछि खत्याड गाउँपालिकालाई जोड्ने मुख्य मार्गका रूपमा स्थापित हुन थालेको जुम्ला सिजाँ हँुदै मुगुको खत्याड भेग जोडिएको कालाकाँडा खमाले गम्था सडक खण्ड अवरुद्ध भएको हो। यातातको एक मात्र साधन सडक बिग्रिएपछि मालवाहक ट्रक, जिपलगायतका साधन आवतजावत गर्न नपाउँदा यात्रुलाई गन्तव्यसम्म जान आउन समस्या हुनुका साथै सामानको मूल्यसमेत आकासिएको छ।

सडक अवरुद्ध बनेपछि गोठी जिउलाबाट खत्याड गाउँपालिका भित्रने कुनै पनि यातायातका साधनहरू सञ्चालनमा आउन सकिरहेका छैनन् भने यातायात सञ्चालनमा नआउँदा स्थानीय बासिन्दालाई मर्का परेको छ। बीच बाटोमा आइपुगेका मालवाह गाडी पनि अलपत्र अवस्थामा रहेका र खत्याड आउने पाठ्यपुस्तक पनि बाटोमै अलपत्र अवस्थामा रहेको खत्याड गाउँपालिकाको गम्थाबाट लोकराज दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकाको लुमा गाउँका स्थानीय बासिन्दाले खत्याड आइरहेको सडक परिवर्तन हुनुपर्ने र आफूहरूले पहिले काम गरेबापतको ज्यालासमेत नपाएको भन्दै मोटरबाटो सञ्चालनमा रोक लगाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्