बारपाकमा चलायमान पहाडहरू



गोरखा, (नेस)। भूकम्प गएको २ वर्षपछि भूकम्पको केन्द्रविन्दु बारपाकमा रेडक्रसले पछिल्लोपटक निर्माण गरेको वृत्तचित्रको प्रथम प्रदर्शन गरेको छ।

गाउँलेहरूले नै खेलेको ३० मिनेटको वृत्तचित्र चलायमान पहाडहरू–२ (मुभिङ माउन्टेन टु) हेर्न बारपाकका सयौं मानिस हिमालय माध्यमिक विद्यालयमा जम्मा भएका थिए। वृत्तचित्रमा भूकम्प किन र कसरी जान्छ, नेपालमा विगतमा मात्र होइन, आउने दिनमा पनि भूकम्प जानसक्छ भन्ने कुरालाई समेटिएको छ। ‘यो वृत्तचित्र वास्तवमा हामीलाई ब्युँझाउने खालको छ’, बारपाक आमा समूहकी अध्यक्ष प्रसनी घले भन्छिन्– ‘हेर्नुअघि मलाई २०७२ को भुइँचालो देखिने भो फेरि, भन्ने डर थियो। तर, मेरो सोचाइ गलत रहेछ, यो त हामीलाई ब्युँझाउन पो बनाइएको रहेछ।’

बारपाक–४ का पुरबहादुर गुरूङ भन्छन्– ‘वृत्तचित्र साँच्चै राम्रो छ, यो सबैले हेर्नुपर्छ। किनकि २०७२ को जस्तै भुइँचालो कहिले र कसरी आउँछ भन्ने हामीलाई थाहा थिएन र अब कहिले आउँछ भन्ने पनि थाहा छैन, सबैले पूर्वतयारी गर्नुपर्छ र सुरक्षित निर्माणमा जुट्नुपर्छ।’

यो वृत्तचित्रमा कास्कीको धम्पुसकी सीताको बारपाकमा रहेको मामाघर यात्रा र त्यहाँ भूकम्पले पारेको असरबाट उनको सोचाइमा पारेको बृहत् प्रभाव समेटिएको छ। वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्दै भूकम्प प्रतिकार्य कार्यक्रम प्रमुख उमेश ढकालले भने– ‘हामीलाई थाहा छ कि नेपालले भविष्यमा योभन्दा पनि ठूलो भूकम्प व्यहोर्नुपर्छ। यस जानकारीले हामीलाई अझ पूर्वतयारीमा रहने अवसर प्रदान गर्दछ। सरकारको नीतिअनुरूप हामीले सुरक्षित पुनर्निर्माणलाई अघि बढाउनै पर्छ। नत्र २०७२ को जस्तै भूकम्पको जोखिममा हामी फेरि पर्न सक्छौं।’

कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको नेपाल कार्यालय प्रमुख म्याक्स स्यान्ट्नर वृत्तचित्रमा खेल्ने बारपाकका स्थानीयहरूलाई सम्मान पनि गरेका थिए। एनिमेसन स्टुडियो इन्सासेन्ट रेनको प्राविधिक सहयोगमा रेडक्रसले वृत्तचित्रको निर्माण गरेको हो भने सत्याले प्रदर्शनीको व्यवस्थापन गरेको हो। नेपालभरका मानिसले भोलि वैशाख १२ गते विभिन्न टेलिभिजनमार्फत् यो वृत्तचित्र हेर्न पाउने नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्