छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु



कविराज नेपाल, पाल्पा
आइतबार पाल्पामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा एकै परिवारका ३ जना रहेका छन्।

आइतबार दिउँसो करिव ४ः१५ बजे नवलपरासीको सुनवलबाट पाल्पाको चुनढुङ्गा खानी मरेकतर्फ चुनढुङ्गा लिनका लागि आइरहेको लु.१ ख ९०३१ नम्वरको टिप्पर तिनाउ गाउँपालिका–३ भलायबास भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।

सिद्धार्थ राजमार्गबाट ठाडो उकालोमा सो दुर्घटना भएको हो। ट्रिपर सडकबाट करिब २ सय मिटर तल भीरमा खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तिनाउ गाउँपालिका–६ का पुरन सारु, उनकी श्रीमती बालकुमारी र छोरा हेमेसको मृत्यु भएको हो।

दुर्घटनामा ट्रिपरका सहचालक विमल कनौजे मगरको पनि घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीले जनाएको छ। छोरालाई विद्यालय भर्ना गरी फर्कंदा सो दुर्घटना भएको हो।

अप्ठ्इरो भीर भएकाले समयमा नै उपचार गर्न नसकिएको बताइएको छ। एकै परिवारका ३ जनाको मृत्युपछि गाउँ शोकमा परेको छ।

त्यस्तै बिहान रिब्दीकोट गाउँपालिका–७, पालुङ मैनादीबाट तानसेन आउँदै गरेको लु.१ ज १५८१ नम्बरको जिप सोही गाविसको चाँचरी भन्ने स्थानमा सडकबाट करिब डेढसय मिटर तल खस्दा पालुङ मैनादीकै गाडी मालिक दानबहादुर गाहाको घटनास्थलमै ज्यान गएको छ। जिपमा सवार सोही ठाउँका प्रेमबहादुर गाहा र उनका छोरा भुवनको अहिले युनाइटेड मिसन अस्पताल, तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्