दबुमा ताम्राकार



नेपाल समाचारपत्र
दाङ
नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूले आइतबार वैधानिक नेतृत्व पाएको छ। दाङको सदरमुकाम घोराहीमा भएको छैठौं महाधिवेशनले नरेश ताम्रकारलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो। भोजपुर निवासी ताम्रकार यस अघि देय् दबूको धनकुटामा भएको पाँचौ महाधिवेशनबाट अध्यक्षमा चयन हुनुभएको थियो। आइतबार आएको मतपरिणामअनुसार ताम्रकारले १ सय ९६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी पवित्र वज्राचार्यले १ सय ५० मत प्राप्त गर्नुभएको थियो। अध्यक्षसहित निर्वाचित हुनेमा अधिकांश काठमाडौं उपत्यका बाहिरका रहेका छन्।

प्रत्येक प्रदेशबाट १⁄ १ जना उपाध्यक्ष चयन गर्ने प्रावधानअनुसार ३ नं प्रदेशबाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको थियो। ३ नम्बर प्रदेशको उपाध्यक्षमा चितवनका विजय तण्डुकार र चन्द्रलाल राजभण्डारी, काठमाडौंका विजय वज्राचार्य, उर्मिला डंगोल र रजनीमिला महर्जनले उम्मेदवारी दिनुभएकोमा राजभण्डारी निर्वाचित हुनुभएको हो।

त्यसै गरी केन्द्रीय सदस्यतर्फको खुल्ला पदमा माइला बाबु द्योलाले सबैभन्दा बढी मत (२४८) प्राप्त गर्नुभएको छ। त्यसै गरी शान्ता श्रेष्ठ, बसन्ता महर्जन, अनिल मास्के, सत्यनारायण डंगोल र महेन्द्र लिगल निर्वाचित हुनुभएको छ। त्यसै गरी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूमा प्रदेश नं १ बाट कमल श्रेष्ठ, २ बाट घनश्याम श्रेष्ठ, ३ बाट हरिकुमार श्रेष्ठ, ४ बाट देवेन्द्र श्रेष्ठ, ५ बाट त्रिरत्नलाल श्रेष्ठ, ६ बाट खगे्रेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बर प्रदेशबाट विकास श्रेष्ठ रहनुभएको छ।

यसैबीच राजधानीमा भएको भद्र सहमति दाङमा उल्लंघन भएकोमा देय् दबूका संरक्षक मल्ल के सुन्दरले दुःख व्यक्त गर्नुभएको छ। ‘देय् दबूमा भएको विवाद, टुटफुटले अधिकार प्राप्तिको आन्दोलन नै कमजोर बनेको अवस्थामा संगठनलाई सुदृढ बनाउन सबै पक्षबीच सहमति हुनुपर्ने आवश्यकता थियो। यही आवश्यकताअनुसार सहमति भएको थियो। तर दाङमा गएपछि सहमति कार्यान्वयन हुन सकेन’ –संरक्षक मल्लले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्