चुनावी तालमेलको एमाले कार्यकर्ताबाट चर्को विरोध



नेपाल समाचारपत्र
गुल्मी
स्थानीय निर्वाचनका लागि गुल्मीमा भएको एमाले गुल्मी र माओवादी केन्द्रबीच भएको तालमेलको एमाले कार्यकर्ताले चर्कोे विरोध गरेका छन्। चुनावी तालमेलको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच शुक्रबार भएको सम्झौता तत्कालै सच्चाउन एमाले कार्यकर्ताले जिल्ला नेतृत्व पंक्तिलाई दबाब दिएका छन्।

जिल्लाका विभिन्न स्थानमा रहेका एमालेका गाउँ वडा तहका कमिटीले वक्तव्य सार्वजनिक गरी नेतृत्व तहबाट भएको सहमति मान्य नभएको चेतावनी दिएका छन्। कार्यकर्ताको हितविपरीत जिल्ला नेतृत्वले माओवादी केन्द्रसँग सम्झौता गरेकाले यसको खुलेरै विरोध गर्ने विज्ञप्तिमार्फत जनाइएका छन्।

मालिका गाउँपालिका गुल्मी वार्ड कमिटीका उपाध्यक्ष ठाकुर अर्याल र सचिव प्रेम बहादुर जिसीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा कार्यकर्ताको रायसुझाव नलिई एकल रूपमा पार्टीले निर्णय गरेको आरोप लगाइएको छ। एमालेका समग्र मतदाताहरूको हित विपरीत गरिएको उक्त निर्णय बाध्य भएर मान्न जरुरी नरहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनीहरूले कसैसँग तालमेल नगरी एक्लै नै चुनाव लड्नुपर्ने माग राखेका छन्। आफूहरूको मागप्रति बेवास्ता गरे जस्तोसुकै मूल्य चुकाउन समेत पछि नपर्ने उनीहरूले अठोट गरेका छन्। कार्यकर्ताले जिल्लाभर भएको तालमेल तुरुन्त फिर्ता लिन पार्टी चुनावी अभियान जुट्न आग्रह गरेका छन्। जिल्लामा मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, चन्द्रकोट गाउँपालिकामा सहित अन्य केही वडाहरूमा कार्यकर्ताको चर्को विरोध आएको छ। जिल्लाबाट विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरूबाट पनि चर्को विरोध जनाएका छन्।

कार्यकर्ताले जिल्ला तहका नेतालाई सहमति फिर्ता लिन दबाब दिएका छन्। एमाले जिल्ला तहका नेताहरूले भने नेकपा एमाले पार्टी हितका लागि चुनावी तालमेल भएको जनाएका छन्। तालमेलका क्रममा एमाले आफू माथि रहेर सहमति गरेको एमाले जिल्ला कमिटीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए।

पन्तले भने– ‘केही ठाउँबाट असहमति आएको छ त्यसलाई पार्टी पंक्तिबाटै सहमति खोजेर सहकार्यका साथ अघि बढ्छौं।’ पार्टीभित्रै केही कार्यकर्ताले वडा तहमा केही सैद्धान्तिक नमिलेको बताएका छन्। तालमेलले नेतृत्व तहमा उत्साह थपिए पनि कार्यकर्ताबाट भने असहमति देखिएको छ। सहमतिअनुसार गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकामध्ये ३ गाउँपालिका प्रमुख र ६ वटा गाउँपालिका उपप्रमुखसहित २४ वडा अध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्