पानीको धाराले ल्याएको खुसी



नेपाल समाचारपत्र
बझाङ
पुर्खादेखि खोला र ढुंगेधारा तथा कुवाको पानी खाँदै आएका थलारा गाउँपालिका–९ अफलाका ७० परिवार स्थानीय अहिले घरघरमै धारा बनेपछि हर्षित भएका छन्। बिहान ५ बजेदेखि घरभन्दा २५ मिनेट तल रहेको ढुंगेधारा र कुवाको पानी खाने गरेका स्थानीयबासी अहिले जिल्ला समन्वय समिति ग्रामीण जलस्रोत व्यवस्थापनले सो गाउँमा १३ वटा खानेपानीका धारा र गाईगोरुलाई पनि पानी खुवाउने उचित व्यवस्था भएको खानेपानीको धारा २३ लाख ७० हजार लागतमा निर्माण गरिदिएपछि स्थानीयमा हर्ष छाएको छ।

‘परम्परादेखि पिउँदै आएको खोला र कुवाको पानी खाँदै आएका थियौं र अहिले जलस्रोतले गाउँमा खानेपानीको धारा निर्माण गरी खानेपानीको समस्याबाट मुक्ति दिएको छ’, कालपाटा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष पूर्णबहादुर भण्डारी भन्छन्– ‘स्थानीय सबैलाई खुसी लागेको तथा घर सरसफाइमा पनि सहज भएको छ।’

२०४८ सालमा ग्रामीण खानेपानी परियोजनाबाट थलारा गाउँपालिका–९ अफला गाउँमा ७ वटा धारा निर्माण गरेको थियो तर एक वर्ष नबित्दै निर्मित खानेपानीका धाराको स्टमेट गर्दा फरक परेकाले पानीको मुहानमा चुनढुंगा निस्केपछि खानेपानी धारा अवरुद्ध भएको थियो। खानेपानीमा चुनाढुंगा आएर पिउन योग्य नभएपछि पुनः खोला र ढुंगेधारा कुवाको पानी खान बाध्य भएका स्थानीयहरू अहिले घरघरमै धारा भएपछि हृदयदेखि नै खुसी भएको स्थानीय प्रकाश भण्डारीले बताए।

२०६४ सालमा सो गाउँमा निर्मित गरेका सात खानेपानीका धाराको मर्मत कार्य गर्छु भनेर गरिबी निवारण परियोजना लागू भएको थियो तर सो परियोजनाले मर्मत गरेका खानेपानीका धारा पिउने पानी खान योग्य भएनन्। त्यसैले उही परम्परागत २५ मिनेट टाढा रहेको खोला र कुवाको पानी खान बाध्य भए स्थानीय। यस क्षेत्रका स्थानीय अहिले गाउँमा १३ धारा निर्माण भएपछि खानेपानीको खासै समस्या नभएको र आफूलाई खुसी लागेको कालपाटा खाने पानी तथा सरसफाइ योजनाका सचिव भीमबहादुर भण्डारी बताउँछन्।

यस जिल्ला समन्वय समिति ग्रामीण जयस्रोत व्यवस्थापनले शुद्ध खानेपानीको परिकल्पना गरी यो परियोजनालाई निरन्तरता र सरसफाइमा नमुना गाउँ बनाउनुपर्ने जिल्लास्थित सरोकारवाला निकायलाई अझ बढी जनचेतना र थप केही विकासका पूर्वाधार बनाउनमा सहयोग गरी स्थानीयलाई सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी केशवबहादुर थापाले बताउनुभएको छ।

यस कालपाटा खानेपानी तथा सरसफाइ योजनालाई दिगो विकासको लक्ष्य लिएर दिगो सरसफाइ र दिगो स्वच्छ खानेपानीलाई निरन्तरता दिएर अब पछिल्लो समयमा खानेपानीको समस्यामा अल्झिन नपर्नुपर्ने र अशुद्ध खानेपानीबाट लाग्ने विभिन्न किसिमका रोग व्यथाबाट यस गाउँका ७० परिवार स्थानीय वञ्चित हुनुपर्ने र यी योजनालाई आफ्नै छोराछोरीको स्याहारसम्भार गरेझंै खानेपानी योजनाको स्याहार गरेपछि दिगो शुद्ध खानेपानीको उपभोग गर्न पाउन सकिने जिल्ला प्रविधिक प्रमुख जगतप्रसाद जोशीले स्थानीयलाई सन्देश दिनुभएको छ।
जिल्लामा निर्मित विभिन्न विकासका पूर्वाधारका योजना दिगो नहुनुकै कारण स्थानीय उपभोक्ता र सरोकारवालाको पैसा कुम्ल्याउने परिपाटीले गर्दा निर्माण भएका योजनाको दिगो विकास हुन नसकेको सरोकारवाला निकायको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्