गुल्मेलीको जहाज चढ्ने सपना पूरा हुँदै



अनिल खत्री, गुल्मी
गुल्मीमा झन्डै १० वर्षअघिदेखि निर्माण कार्य शुरू गरिएको रेसुंगा विमानस्थलमा निर्माण अन्तिम चरण पुग्न थालेको छ। २०६३ देखि विमानस्थल निर्माण शुरू गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको थिएन। पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दशैँसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिले जनाएको छ। विमानस्थल निर्माण कार्य अन्तिच चरण पुग्न थालेसँगै गुल्ममेलीको जहाज चढ्ने सपना पूरा हुने आशा पलाएको छ। नेकपा एमालेको तर्फबाट तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवाली रहँदा उक्त विमानस्थलको शिलान्यस गरेका थिए।

विमानस्थल निर्माणका लागि यो वर्ष निर्माण गरिरहेको सुनील समीर निर्माण सेवाका नारायण पोख्रेलका अनुसार आउँदो असारसम्म काम सक्ने गरी निर्माण भइरहेको जानकारी दिए। सम्झौता मंसिरसम्मको भए पनि बीचमा कुनै अवरोध नआए बर्खाअगाडि नै काम सक्ने गरी काम भएको उनले बताए।

विमानस्थल निर्माणका लागि सिमीचौर थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारिएको छ। कुल जमिन ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा रहेको छ। त्यसमध्ये २२ रोपनी १० आना जग्गामा भएका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्यत्र सारिएको विमानस्थल निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए। विमानस्थलको ६ सय १० मिटर धावन मार्ग र ३० मिटर चौडाइ रहेको छ। केही समय मुआब्जा विषयमा विवाद भएपछि निर्माण कार्य रोकिएको थियो। दलहरू र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको मुआब्जा समितिले सम्पत्तिको मूल्यांकनका आधारमा मुआब्जा वितरण गरेपछि विवाद सुल्झिएको हो। यो वर्ष जाली उठाउने र सम्याउने काम मात्र भएको उनको अध्यक्ष पन्तको भनाइ छ।

अहिले ग्याबिन र वास आउटिङको काम बाँकी रहेको निर्माण कार्य गरिरहेका सुनील समीर निर्माण सेवाका पोख्रेलले बताए। समयमै बजेट विनियोजन भए बाँकी काम सकेर विमानस्थलबाट आउने दशंैमा धुले उडान गर्न सकिने जानकारी दिए। विमानस्थल निर्माणको क्रममा अहिलेसम्म ५ हजारदेखि १७ लाखसम्म मुआब्जा वितरण गरिएको समितिका अध्यक्ष पन्तको भनाइ छ। कुल ४६ घरपरिवारलाई अहिलेसम्म करिब ८५ लाख मुअब्जा वितरण भइसकेको पन्तले बताए।

विमानस्थल निर्माण शुरू भएको लामो समय भएकाले पनि स्थानीय तत्काल उडान हुनेमा भने विश्वस्त छैनन्। स्थानीयले कामको प्रकृति हेर्दा विमानस्थल समयमै बन्लाजस्तो नलागेको रेसुंगा नगरपालिकाका लक्ष्मी अर्यालले बताए। रेसुंगा विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब ११ करोड रुपियाँ खर्च भएको विमानस्थल निर्माण समितिका पूर्वअध्यक्ष जयप्रसाद अर्यालले जानकारी दिए। यो वर्ष ४ करोड ३४ लाख, गत वर्ष ३ करोड १ लाख र अघिल्ला वर्षमा पर्यटन मन्त्रालयबाट रकम प्राप्त भएको हो। विमानस्थलको टावर र भवन निर्माणका लागि २ करोड स्वीकृत भइसकेको अर्यालले बताए। अहिलेको सम्झौताको ५० प्रतिशत काम सकिएपछि अर्को टेन्डर आह्वान गरिने उनको भनाइ छ। ठेकेदारबाट सम्झौताअनुसारको काम नभएको स्थानीयको गुनासोपछि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए। अहिले निर्माण भइरहेको सिमीचौरको थालेमालेसहित सदमुकाम तम्घास नजिकको उनायचौरको पनि अध्ययन भएको थियो।

प्रतिक्रिया दिनुहोस्