उम्मेदवार छनौट गर्दै दोलखाका राजनीतिक दलहरु



चिरञ्जीवी मास्के,दोलखा

निर्धारीत मितिमा निर्वाचन हुन्छ की हुदैन भन्ने अन्यौल कायमै रहेपनि दोलखाका प्रमुख राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम छनौट गर्न थालेका छन् ।

२ नगरपालिका र सात गाँउपालिका भएको दोलखा जिल्लामा नेपाली कांग्रेसले, २ नगरपालिका र ४ गाउँपालिकामा प्रमुख पदको उम्मेदवारको नाम छनौट भइसकेको छ ।

नेपाली कांग्रेस दोलखाले भीमेश्वर नगरपालिकामा महासमिति सदस्य एवम तरुण दलका पूर्व केन्द्रिय सचिव इश्वर मानन्धरलाई प्रमुखको लागि चयन गरेको छ ।

त्यसैगरी जिरी नगरपालिकामा सोनाम शेर्पालाई उम्मेदवार बनाउने जनाएको छ । नेपाली कांग्रेसले बैतेश्वर गाँउपालिकामा छवि लामा, मेलुङ गाउँपालिकामा बर्मा लामा, विगु गाँउपालिकामा श्यामराजा खड्कालाई प्रमुखमा उम्मेदवार बनाउने नेपाली कांग्रेसका सचिव सन्तोष रिमालले बताए ।

त्यसैगरी तामाकोसी गाँउपालिकामा भवेन्द्र कार्कीलाई प्रमुख र सृजना सुवेदीलाई उपप्रमुखको उम्मेदवार बनाउन लागेको सचिव रिमालले बताए । नेपाली कांग्रेसले कालिञ्चोक, शैलुङ र गौरीशङ्कर गाँउपालिकामा भने उम्मेदवार छनौट गरेको छैन । त्यसैगरी कतिपय गाँउपालिकामा उपप्रमुख पनि छनौट गरेको छैन ।

माओवादी केन्द्रसंग तालमेलको लागि छलफल चलिरहेकोले तीन गाँउपालिकामा प्रमुख र अन्य केहि गाँउपालिकामा उपप्रमुखको नाम छनौट भै नसकेको सचिव सन्तोष रिमालले बताए ।

बैशाख १५ गतेसम्ममा भने सबै गाँउपालिका र नगरपालिकामा उम्मेदवारको नाम सार्वजनिक भै सक्ने सचिव रिमालको भनाई छ ।
माओवादी केन्द्रले जिरी नगरपालिकामा प्रमुख गेल्बु शेर्पा, शैलुङ गाँउपालिकामा रिमालबाबु श्रेष्ठ, कालिञ्चोक गाँउपालिकामा गोपाल पाण्डे र कुलबहादुर बुढाथोकी मध्य एकलाई उम्मेदवार बनाउने जनाएको छ ।
त्यसैगरी बैतेश्वर गाँउपालिकामा प्रमुख रविचन्द्र आर्चाय र उपप्रमुख हिमाली गोले तथा गौरीशङ्कर गाँउपालिकामा निमा लामा वा छिरिङ शेर्पा मध्य एकलाई उम्मेदवार बनाउने जनाएको छ ।

अन्य गाँउपालिका र नगरपालिकामा भने नेपाली कांग्रेससंग तालमेलको लागि छलफल चलिरहेकोले नाम छनौट भै नसकेको माओवादी केन्द्रले जनाएको छ ।

त्यसैगरी राप्रपाले भीमेश्वर नगरपालिकामा प्रमुखमा पत्रकार राजन शिवाकोटी, जिरी नगरपालिकामा प्रमुखमा रामकाजी खड्का र उपप्रमुखमा फेसीमाया जिरेल, विगु गाँउपालिकाको प्रमुखमा पार्टी अध्यक्ष सुन्दरप्रकाश खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजनबहादुर शिवाकोटीले बताए ।
नेकपा एमालेले आज बेलुकासम्म सबै गाँउपालिका र नगरपालिकामा उम्मेदवारको नाम छनौट गरीसक्ने उपाध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्