६० प्रतिशत नेपालीले टेलिकमको सेवा लिइरहेका छन्



कामिनी राजभण्डारी
प्रबन्ध निर्देशक, नेपाल टेलिकम

सय वर्ष लामो इतिहास बोकेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको छ। २०४२ सालमा टेलिकममा प्रवेश गर्नुभएकी कामिनी राजभण्डारी प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडि कम्पनीका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ। इलोक्ट्रिोनिक कम्युनिकेसनमा स्नातकका साथै एमबीएसमेत गर्नु भएकी राजभण्डारीले छोटो समयमा आफ्नो कुशल व्यवस्थापकीय क्षमता प्रस्तुत गरिसक्नुभएको छ।

प्रविधिक र व्यवस्थापनका क्षेत्रमा आफूलाई खरो रुपमा प्रस्तुत गर्नुभएकी राजभण्डारी टेलिकममा यो पदसम्म पुग्ने आफू पहिलो महिला भए पनि महिला भएकै कारण नभई खुला प्रतिस्पर्धाबाट टेलिकमको नेतृत्वमा पुग्नु भएको हो। नेपाल टेलिकमको वर्तमान स्थिति र आगामी योजनाका सन्दर्भमा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गर्नुभएको कुराकानी।

तपाईं नेपाल टेलिकममा आएपछि कस्ता आर्थिक, नीतिगत एवम् प्राविधिक सुधारहरु भए ?

म आउने बेलामा धेरै ‘रिजल्ट पेन्डिङ’ थिए। ती काम भएका छन्। एक वर्षदेखि यहाँ कुनै वृत्ति विकास भएको थिएन, दरबन्दी स्वीकृति भएको थिएन। दरबन्दी स्वीकृति गरेर हामीले नयाँ कर्मचारी थपेका छौं। अहिले नेपाल टेलिकममा ४ हजार १ सय ३० जना कर्मचारी छन्। उनीहरुलाई हौसला प्रदान गर्ने काम पनि भएको छ। नेपाल टेलिकम अहिले जुन दु्रत गतिमा विकास भइराखेको छ त्यो अनुसार नै अगाडि बढाएर हामीले कम्पनीलाई पुनःसंरचनाको धारमा ल्याएका छौं। पुर्नसंरचनाका काम पूर्णरुपमा पूरा गर्ने मेरो प्रयासमा हुनेछ।

प्रविधिको कुरा गर्दा ‘रिङ ब्याक टोन’ माघ २२ गते पुनः शुरु गरिसकेका छौं। ब्रोड ब्यान्ड सर्भिसमा फोकस गरेर व्यापक विस्तार गर्ने हाम्रो लक्ष्य छ, विभिन्न भ्यालु एडेड सर्भिस दिने गरी अगाडि बढाइराखेका छँैं। हाम्रो मुख्य फोकस भनेको नै डाटा सर्भिस हो। त्यसअनुसार हामीले विभिन्न डाटा प्याकेजहरु ल्याउदैछौं। आर्थिकस्तर वृद्धि ल्याउन विभिन्न नयाँ प्रविधिहरु भित्र्याइरहेका छौं। आउने दिनमा कस्तो प्याकेज दिँदा ग्राहकलाई के फाइदा पुग्छ भनेर त्यस्तो किसिमको अप्रोच पनि ल्याइसकेका छँैं। ग्राहकलाई थप सुविधा दिनका लागि त्यस्तो कार्यक्रम ल्याएका छँैं।

नेपाल टेलिकमका मोबाइल र एडीएसएललगायतका सेवाको गुणस्तरमा उपभोक्ताको व्यापक गुनासो छ, यसलाई सम्बोधन गर्न यहाँले कुनै ठोस योजना बनाउनु भएको कि ?

नयाँ प्रविधि भित्र्याउँदा माग बढिरहेको छ। गुणस्तर केही तल माथि भएको हुनसक्छ। तर, यसको मतलब गुणस्तरमा हामीले सम्झौता गरेको भन्ने होइन। कति प्रतिशत ग्राहकले त्यसबारे गुनासो गर्नुभयो भन्ने कुरा पनि आउँछ। ग्राहकले कस्तो सुविधा पाइराखेका छन् भनेर हामीले निरीक्षण गर्ने गरेका छौं। अलि–अलि गुनासो होला। हामीले अहिले सेवाको क्षेत्रलाई विस्तार पनि गरिराखेका छौं। अर्थात पुरानो प्रविधिलाई नयाँ प्रविधिमा विस्थापित गरिराखेका छँैं। भ्वाइस सेवा दिने लाइन छ, त्यो ६ किलोमिटर दूरीमा छ। जति टाढा भयो त्यति ग्राहकले गुणस्तरीय सेवा पाउँदैनन्। त्यस कारणले हामीले ग्राहकको घरमै पुग्ने गरी फाइबर टु होम सेवा दिइराखेका छौं। एक्सेस गेटमार्फत् जति सक्छौं ग्राहकको एक किलोमिटर दूरीमा पर्ने गरी राख्न सक्यौं भने ग्राहकले डाटा सर्भिसमा राम्रो सर्भिस पाउन सक्छन् भन्नेतर्फ हाम्रँे फोकस हो।

दूरसञ्चारको क्षेत्रमा धेरै प्रतिस्पर्धी कम्पनीहरु आइसकेको अवस्थामा छ।

टेलिकमले सय वर्ष लामो इतिहास बोकेको पृष्ठभूमिमा यस्ता सामान्य समस्याले उसको सेवाको गुणस्तरमाथि प्रश्न उठ्नुलाई यहाँले कसरी हेर्नुभएको ?

कभरेजमा अलि कम छ, त्यो नभएको होइन। तर, सिम वितरणअनुसार नयाँ–नयाँ ग्राहक बनिरहेका छन्। नेपाल टेलिकम भनेको वास्तवमा राष्ट्रको सञ्चार हो। उहाँहरुलाई विश्वास छ कि नेपाल टेलिकमले दिने सेवा राम्रो हुन्छ। कस्ट इफेक्टिभ सेवा नेपाल टेलिकमले दिन्छ भन्ने विश्वास ग्राहकमा छ। नेपालका ६० प्रतिशत मानिसले नेपाल टेलिकमको सेवा लिइरहेका छन् र ग्राहकको संख्या निरन्तर रुपमा बढी नै राखेको छ।

प्रविधि यस्तो दु्रत गतिमा विकास भइराखेको छ कि बजार एकदमै चुस्त दुरुस्त छ। जति सेवा दियो त्यति नै बढी ग्राहकले खोज्ने रहेछन्। तर, कहिलकाहींँ त्यस्तो हुन सक्छ। हामीले के गरिराखेका छँैं भने यो एरियाको लागि यति ग्राहकको लागि डाइमेन्सन गरेर सेवा दिइराखेका हुन्छँैं तर अपरझट त्यहाँ के हुन्छ भने संख्या बढ्छ, त्यसैले कहिलेकाहीँ ग्राहकले आफ्नो इच्छाअनुसार सेवा नपाउँदा केही गुनासो भएको होला। हामीले त्यसलाई न्यूनीकरण गर्नेतर्फ लागेका छौं।

हामीसंँग उपलब्ध प्रविधिमार्फत् दिएको सेवाको पूर्णरुपमा हामीले अनुगमन गरेका छँैं। बिल्डिङ सिस्टम त अफ हुनु भएन त्यस्तो ठाउँमा हामीले २४सैं घण्टाको ड्युटीमा राखेका छँैं। कुनै टाइममा सिस्टम अफ हुन भएन। उपकरणको पूर्ण रुपमा सदुपयोग गर्नसक्नुपर्छ। गुनासो आउन नदिनको लागि उपकरणहरु दुस्स्त अवस्थामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। साथसाथै पुरानो प्रविधिको उपकरण छ भने हामीले त्यसलाई नयाँ उपकरणमा प्रतिस्थापन पनि गरिराखेका छँैं। जुन ठाउँमा ग्राहकबाट व्यापक डाटा सर्भिसको माग छ, आउने दिनमा फाइबर टु होमले न्यूनीकरण गर्नेछ।

दूरसञ्चार कम्पनीहरुबीच आफ्नो ग्राहक संख्या बढी देखाउने होडबाजी चल्दै गर्दा केही अस्वभाविक तथ्यांकहरु पनि बाहिर आउने गरेका छन्। बास्तवमा यस्तो किन हुन्छ होला ?

यो त प्रतिस्पर्धाको कुरा हो। कुनै कम्पनी एकदमै अगाडि बढिराखेको छ भने कुनै न कुनै किसिमको सूचना बाहिर निकालेर त्यो कम्पनीलाई थ्रेट दिने गर्छन्।

वास्तविकता त्यो होइन। हाम्रो भनाइ के हो भने जति सब्सक्राइभ गर्छन् ती सबै एक्टिभ बस्न सक्दैनन्। कतिपयले सिम खरिद गरेर एक⁄दुई महिना पनि चलाउनु हुन्न। कोही विदेश जानु हुन्छ। त्यसले गर्दा पनि कहिलेकाहीँ एक्टिभ ग्राहक कम देखिन्छन्। त्यस्तो किसिमको डाटा आएको खण्डमा हामी त्यो मान्न सक्दैनौं।

ग्राहक संख्या निरन्तर रुपमा बढिरहेका छन्। तर, एक्टिभ ग्राहक कहिलेकाहीँ कम देखिन्छ।

अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा टेलिकमसँग फ्रिक्वेन्सी क्षमता धेरै नै रहेको देखिन्छ तर यसको अधिकतम् उपयोग भएको देखिँदैन किन होला ?

नेपाल टेलिकम ९१ दशमलब ४९ प्रतिशत सरकारको शेयर भएको कम्पनी हो। सर्वसाधारणको ८ दशमलब ५१ प्रतिशत छ। हामी विकट ठाउँमा पनि सेवा विस्तार गर्दैछँैं। जहाँ हामीलाई १ प्रतिशत पनि नाफा छैन। विभिन्न प्रविधि ल्याउँदा विभिन्न फिक्वेन्सीहरु प्रयोग गर्नुपर्ने हुन्छ। हाम्रो सीडीएमए सेवा विकट ठाउँमा पनि पुगेको छ। जीएसएम, वाईम्याक्स ल्याएका छौं। विभिन्न टेक्नोलोजी ट्रान्सफर गर्दा विभिन्न फिक्वेन्सी युज गर्दा बढी देखिएको होला। मल्टिपल टेक्नोलोजी बढी प्रदान गरेको हुनाले वास्वतमा बढी फ्रिक्वेन्सी देखिएको हो।

टेलिकमले बजारमा ल्याएको फोरजी लगायतका नयाँ पुस्ताका सेवा अझै प्रभावकारी हुन सकेका छैनन्, यस विषयमा केही ठोस योजना बनाउनु भएको छ कि ?

हामीले फोरजीको लागि विभिन्न प्याकेज लिएर आइराखेका छौं। हाम्रो मुख्य फोकस भनेको डाटा सर्भिस हो। वैशाख १ गतेदेखि हामीले डाटा प्याकेज ल्याएका छँैं। डाटा प्याकेज ल्याएदेखि ग्राहक बढेका छन्। यसको प्रतिक्रिया पनि राम्रो आएको छ। दिन प्रतिदिन राम्रो डाटा प्याकेज ल्याएर ग्राहकलाई फोरजी राम्ररी प्रयोग गरुन् भन्ने उद्धेश्यले अगाडि बढिरहेका छैँ। अझ थप डाटा प्याकेज ल्याउने हाम्रो योजना रहेको छ।

पछिल्लो तथ्यांक हेर्दा गत वर्षको भन्दा टेलिमको नाफामा केही गिरावट आएको देखिन्छ किन होला ?

नाफा घटेको छैन। आर्थिक वर्ष २०७३⁄७४ को तथ्यांक हेर्दा बढी नै नाफा कमाएका छौं। हाम्रो टार्गेटभन्दा धेरै नै नजिक पुगिसकेका छौं। तर, नाफ घटेको भन्ने सन्दर्भमा ८ सय ६ जना कर्मचारीलाई स्वच्छिक अवकासमा पठाएका थियौं, जसमा हाम्रो ठूलो रकम खर्च भएको छ। त्यो रकमलाई घटाउँदा नाफा अलि कम भएको छ। तर, वास्वतमा नाफा भने घटेको छैन।

टेलिकमले प्रदान गर्ने सेवामा करको दर बढी भयो भन्ने गुनासो गर्दै आउनु भएको सुनिन्छ, बास्तविकता के हो ?

सरकारले तोकेको अनुसार हामीले कर तिर्ने हो। म यहाँ आइसकेपछि नेपाल टेलिकम ठूलो कर तिर्ने कम्पनीमा दरिएको छ, ५३ प्रतिशत कर हामीले तिरेका छौं।

टेलिकममा अझै पनि ९० प्रतिशतभन्दा बढी शेयर सरकारको स्वामित्वमा रहेको छ, न्यूनमात्रै सर्वसाधारणको छ यसले गर्दा सरकारी हस्तक्षेप बढी हुन्छ भन्ने पनि सुनिन्छ, टेलिकमको शेयर संरचनामा सर्वसाधारणको उपस्थिति अझै बढाउने बेला भएको छैन ?

सर्वसाधारणको शेयर बढाउने कुरामा सरकारले नै छलफल गर्नुपर्छ। किनकी सरकारको नै शेयर बढी रहेको छ।

टेलिकमले रणनीति साझेदार भित्र्याउने तयारी गरेको छ, यसको आवश्यकता किन पर्यो ?

रणनीति साझेदारीको कुरा भएको दुई वर्ष भयो। सरकारले नै यो कुरा ल्याएको हो। अहिले प्रतिस्पर्धा एकदमै उच्च भइराखेको छ। नयाँ–नयाँ प्रविधिलाई कसरी लिने भन्ने कुरा आइराखेको छ। रणनीति साझेदारीको कुरामा नेपाल टेलिकमले अझै पनि सुधार गर्नसक्छ भन्ने लागेकाले नै रणनीतिको पाटो अगाडि बढेको होला भन्ने मलाई लागेको छ।

टेलिकमले सहायक कम्पनी खोल्ने तयारीमा रहेको सुनिन्छ, त्यसको प्रक्रिया कहाँ पुग्यो ?

हामीले जति सक्दो छोटो समयमा सेवा विस्तार गर्नुपर्ने अवस्था छ किनभने प्रतिस्पर्धा उच्च छ। बजार परिवर्तन भइराखेको छ। एकैपल्ट धेरै काम गर्नुपर्ने अवस्था छ। नेपाल टेलिकमले सबै काम आफैं गर्छु भनेर त्यो सम्भव छैन, यसका लागि हामीले सहायक कम्पनी खोल्न पनि ढिलो भइसकेको छ। यो सम्बन्धमा हाम्रो केही महिना अगाडि छलफल पनि भएको थियो। यसलाई पनि निरन्तर रुपमा थप छलफल गरेर कुनै न कुनै रुपमा सहायक कम्पनी खोल्ने काम अगाडि बढाइराखेका छैँ।

कम्पनी नाफामुखी मात्रै भयो। जलविद्युत्मा बाहेक अन्य सेवाप्रदायक क्षेत्रमा लगानी गरेन भन्ने गुनासो सुनिन्छ के साँच्चिकै त्यस्तै हो त ?

हामीले त्रिशूलीमा ३० प्रतिशत, अपर तामाकोसीमा ६ प्रतिशत र नेपाल विद्युत विकास कम्पनीमा केही प्रतिशत लगानी गरेका छँैं। अन्य ठाउँमा लगानी गर्ने सम्बन्धमा अहिले भन्न सक्ने अवस्था छैन।

लगानीकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने कुनै दीर्घकालीन योजना केही छन् कि ?

दीर्घकालीन योजनामा भनेको फोरजी सेवालाई हामीले वायरलेस बनाउने योजना छ। नेपालमा अब आउने दिनमा फुल कभरेज क्षमता विकास गर्नेे हिसाबले जाने तयारीमा छौं। फाइबर पनि विस्तार गर्ने योजना छ। अहिले पनि एडीएसएल सेवामा १ हजार किलोमिटरको फाइबरको काम शुरु भइसकेको छ। नेपाल टेलिकमले पहिलोपल्ट आरटीएफ फन्डबाट एनटीएको सम्झौता गरेको थियो।मध्यपहाडी लोकमार्गमा प्रदेश १, २, ३ मा ब्रोडब्यान्ड सर्भिसमा अप्टिकल फाइबर विस्तार गर्न पनि काम अगाडि बढिसकेको छ। फाइबर टु होमलाई पनि व्यापक रुपमा विस्तार गर्ने हाम्रो कार्यक्रम रहेको छ। पुरानो प्रविधिलाई विस्थापित गर्दै नयाँमा जाने काम पनि अगाडि बढिरहेको छ, जसलाई टीडीएम माइग्रेसन भनिन्छ। व्यापक डाटा सर्भिसलाई फोकस गर्छौं। मेन फोकस मेरो डाटा सर्भिसमा छ, आउने दिनमा विभिन्न किसिमको डाटा सर्भिस ल्याउने अनि रेभिन्यू वृद्धि गर्दै लाने भन्ने योजना रहेको छ।

कल रेकर्ड उपलब्ध गराउने सम्बन्धमा के भइरहेको छ ?

केही समय अगाडि सर्वोच्च अदालतबाट निर्देशन आएको छ, आगामी दिनमा कुनै पनि कल रेकर्ड दिनको लागि अदालतको आदेशबिना नदिने भनेर, हामी अदालकै निर्देशनलाई पालना गरिरहेका छौं, त्योभन्दा बाहिर जानै मिल्दैन।

धरहरामा लगानी गर्ने सम्बन्धमा के भइरहेको छ ?

धरहराको बारेमा सरकारले निर्णय गरेको थियो, नेपालकै गौरवको विषय भनेर। नेपाल टेलिकम राष्ट्रकै सञ्चार भएको नाताले यसमा लगानी गर्दा राम्रो हुने ठानेर यसमा लगानी गर्ने सोच हो। यसमा विस्तृत रुपमा अध्ययन भइराखेको छ। छलफल चलिराखेको छ निर्णय भएको छैन।

यहाँ नेपाल टेलिकममा आउनु भएको पनि लामो समय भइसक्यो, यहाँको अनुभव कस्तो रहेको छ ?

नेपाल टेलिकममा यो पदसम्म पुग्ने म पहिलो महिला हुँ। तर, महिला भएर नै यहाँ पुगेको चाहीँ होइन। नेपाल टेलिकमलाई अबको दिनमा हाइली कम्पिटिभ मार्केटसित जानुपर्नेछ। सरभाइभ पनि एकदमै लिडिङ पोजिसनमा गर्नुपर्नेछ। यो सरकारले नै खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्छ भन्ने हिसाबले गर्यो। त्यो प्रतिस्पर्धामा म आएको हुँ। मैले इन्जिनियिरङका साथसाथै एमबिए पनि गरेको छु।

म्यानेजमेन्ट पार्टमा पनि सक्षम छु। त्यस्तो च्यालेन्ज फेस पनि गरेको छैन। २०४२ सालमा मैले नेपाल टेलिकम ज्वाइन गरेको हुँ। यसको मुख्य क्षेत्रमा रहेर धेरैजसो योजनामा काम गरेको छुँ। त्यो अनुभव अहिले मेरो लागि एकदमै फलदायी भएको छ। महिला भएता पनि गाह्रो महशुस गरेको छैन। कर्मचारी पनि एकदमै सहयोगी छन्। आउँदा पनि एकदमै आत्मिय स्वागत गर्नुभएको थियो। सकरात्मक सहयोग पाएको छुँ। युनियनका साथीहरुले पनि उत्तिकै सहयोग गर्नुभएको छ।

नयाँ के–के काम भइरहेको छ ?

एउटा कुरा पुर्नसंरचना हो, जुन एकदमै महत्त्वपूर्ण छ। ग्राहकको कुनै गुनासो आयो भने त्यसको समाधानको लागि मैले तुरुन्त टिम गठन गरेँ। त्यसपछि क्रमिकरुपमा अरु पनि गर्ने कोसिस गर्दैछु। सही व्यक्ति सही ठाउँमा पोस्ट गर्नु भनेको नै ठूलो कुरा हो। कुन–कुन योजना अगाडि बढाउनुपर्छ, यसको महत्त्व यति छ र विकासको काम अगाडि बढाउने भनेर योजना बनाउँदैछु। अहिले आएर जति पनि नेपाल टेलिकममा सेवा सुविधा छ, बिलिङ सिस्टम एउटा मात्र हुन्छ।

विलिङ सिस्टमले पूर्ण रुपमा वायरलेस सिस्टमको बिलिङ गर्छ। एउटै विन्डोबाट उहाँहरुले सपोर्ट पाउनुहुन्छ। सीडीएमए, जीएसएम, वाईम्याक्स हरेकको रिचार्ज, सिम लिन पर्यो भने सबै एउटै विन्डोबाट सेवा लिन पाउनुहुन्छ। एडीएसलमा पनि पुरानो सिस्टमले चलिराखेको थियो मैले यसलाई जतिसक्दो चाँडो नयाँ प्रविधिबाट लैजाने कुरामा प्रयास गरेँ। सायद त्यो राम्रो अवस्थामा नै छ। कस्टमर केयर सेन्टर छ त्यसमा आउने दिनमा प्रभावकारी बनाउने तयारी भएको छ।

ग्राहकले गुनासो गर्ने १९८, १४९८, १९१८ नम्बरलाई ओपरेसनमा ल्याइसकिएको छ। यस्तो किसिमको योजनाले ग्राहकको सेवामा सुधार आउने र वृद्धि पनि हुने किसिमले अगाडि बढाइराखेको छु।

त्यस्तै गुनासो सम्बोधन किन समयमा नभएको भनेर कम्प्लेन अडिट शुरु गरिसकेको छु, यो एकदमै सक्रिय छ। क्रस चेक भइराखेको छ, टेक्निकल अडिट पनि शुरु गरेका छँैं। इन्टरनेसनल ब्यान्डविथ भारततर्फ मात्र छ, आउने दिनमा सेवा अवरुद्ध भयो भने विकल्पका रुपमा चाइना टेलिकमसँग पनि सम्झौता गरिसकेका छँैं। हामीले छिट्टै नै चाइना टेलिकमबाट नर्थ साइडबाट पनि ट्राफिकिङ फ्लो हुने पनि तयारी भइसकेको छ। शुरुआत गर्ने र क्रमिक रुपमा जति राम्रो हुन्छ त्यसलाई बढाउँदै लैजाने हो। चाइनाको बोर्डरमा विभिन्न साइडमा पहिरो आएर फाइबर ब्रेक भइराखेको छ जुन छिट्टै नै रिस्टोर हुन्छ। रिस्टोर हुने बित्तिकै काम भइहाल्छ।

अन्त्यमा थप केही छ कि ?

कस्ट इफेक्टिभ हाम्रो एकदमै राम्रो छ। मार्केटिङमा अलि पछाडि परेका हौं। वैशाखमा नाइट प्याकेज भनेर १ महिनाको भ्यालिडिटि दिएका छौं। ग्राहकलाई डोर टु डोर गएर म्यासेजबाट सूचना दिएर यसलाई युज गर्ने गरी अगाडि बढिराखेका छँैं। नेपाल टेलिकम यहाँसम्म आउनु नै ठूलो कुरा हो। ग्राहकलाई कसरी सन्तुष्टि दिने भन्ने नै हाम्रो कुरा हो। रिवार्डिङ सिस्टम शुरु गरिसकेको छु, मैले जसले काम गर्ने हौसला दिन्छ। कर्मचारी विनियमावली, खरिद ऐन विनियमावली परिमार्जन हुँदैछ।

उच्च प्रतिस्पर्धात्मक वातावरणमा हामीले च्यालेन्जलाई अवसरको रुपमा हेरेका छैँ। एनटीएको निर्देशन अनुसार पल्सको कुरा हामीले लागू गरिसेकका छँैं। अझ पनि थप रेभिन्यु संकलन गर्न वैकल्पिक स्रोत लिनुपर्ने हुन्छ, त्यसको लागि पनि हामीले तयारी गरिराखेका छौं। हामी ग्राहकको गुनासोलाई तत्कालै सम्बोधन गर्छौं।

प्रतिक्रिया दिनुहोस्