आधा मूल्य घटाउँदा पनि बिकेन रोपवे



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा सिमेन्ट उद्योगले लिलाम प्रक्रिया अघि बढाएको ४ वर्षमा पनि करोडौं मूल्यको रोपवे उपकरण बिक्री हुन सकेको छैन। लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको हेटौंडा–काठमाडौं रोपवेको उपकरण बिक्रीका लागि लिलाम सूचना प्रकाशन गरिरहे पनि बिक्री हुन नसकेको हो।

हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुंगा भैंसेखानीबाट ढुवानी गर्न बनाइएको रोपवे बन्द भएको एक दशकपछि लिलाम बिक्री गर्ने निर्णय भए पनि खरिदका लागि कसैले पनि चासो देखाएका छैनन्। लिलामका लागि उद्योगले पटकैपिच्छे मूल्य घटाउँदै सूचना प्रकाशित गरिरहेको छ। तापनि कसैले खरिदको लागि चासो नदेखाएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनुभयो।

लिलामीका लागि उद्योगले पटकपटक सूचना प्रकाशित गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न बोलपत्र परेको छैन। पटकपटक बोलपत्र आह्वान गर्दा पनि खरिदकर्ता नआएपछि उद्योगले लिलामी दर पनि घटाउँदै आएको छ। ४ वर्षअघि पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपियाँ कायम गरिएको थियो।

खरिदकर्ताको अनिच्छापछि उद्योगले दोस्रोपटक ४ करोड ६१ लाखमा झारेको थियो। करिब ३ महिनाअघि उद्योगले पुनः मूल्य घटाएर २ करोड ८० लाख कायम गरे पनि बोलपत्र नपरेको महाप्रबन्धक सिंहले बताउनुभयो। मर्मतसम्भार गरेर सञ्चालन गर्न करोडौं खर्च लाग्ने भएपछि जीर्ण बन्दै गएको रोपवे लिलाम गर्ने तयारीमा उद्योग लागेको हो। प्रयोगविहीन रोपवे करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने तयारी गरेको हो।
‘पटकपटक मूल्य घटाउँदै सूचना जारी गर्दा पनि कसैले टेन्डर हालेका छैनन्,’ महाप्रबन्धक सिंहले भन्नुभयो–‘मानवीय सुरक्षाका लागि तत्काल हटाउनुपर्ने अवस्था छ। यही आर्थिक वर्षभित्र केही गरी पनि उपकरण बेच्ने योजनामा छौं।’

नियमित सञ्चालनमा आएको रोपवेबाट चुनढुंगा ढुवानीको लागत खर्च बढी पर्ने भन्दै एक दशकअघि उद्योगले सञ्चालन बन्द गरेपछि उद्योगले रोपवे र उपकरणहरु बिक्री गर्न चाहेको हो। उद्योगले भैंसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पार्टपुर्जा बिक्रीका लागि प्रक्रिया शुरु गरेको थियो।

उद्योगले इच्छुक व्यवसायीलाई १५ दिनभित्र बोलपत्र पेस गर्न आह्वान गरे पनि पटकपटकको सूचनापछि पनि बिक्रीलायक कम्पनी वा फर्मले बोलपत्र खरिद नगर्दा उद्योग हैरानीमा छ। ‘पुनर्मूल्यांकनका लागि समिति बनाएका छौं।

बिनामूल्यांकन मूल्य घटाउन मिल्दैन,’ महाप्रबन्धक सिंहले भन्नुभयो–‘जतिपटक सूचना गरे पनि खरिद गर्न कोही आएका छैनन्। सुरुको मूल्यभन्दा झण्डै आधा मूल्य घटाइसकेका छौं, अझै कति घटाउने ?,’ उहाँले समितिले मूल्यांकनको काम सकेपछि फेरि सूचना जारी गर्ने बताउनुभयो।

उद्योगले उत्पादन शुरुआतसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ। २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डीनजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो। करिब ८ करोड लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको छ। रोपवे मर्मतमै ३ करोड खर्च हुने भएपछि बिक्री गर्ने विकल्प उद्योगले सोचेको हो।

२०४३ सालबाट २ दशकसम्म भैंसेखानीबाट चुनढुंगा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन। टावर, स्टेसन, सवस्टेसन भत्कने, क्यारियरहरु पनि झर्ने गरेपछि उद्योगले बिक्री गर्न लागेको हो। प्रतिघन्टा ३ सय मेट्रिकटन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि एक सय ४० जति बाँकी रहेको उद्योगले जनाएको छ। श्री रामभक्त हनुमान सेवा समिति हेटौंडाले उद्योगका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालन नभएको र पार्टपूर्जाहरु सडेर जीर्ण बन्दै गएकोले जुनसुकै बेला चुडिएर मानवीय क्षति हुनसक्ने भन्दै हटाउन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्