धोनीले पुणेलाई दिलाए जित



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सानदार ब्याटिङ गरेपछि आईपीएल १० अन्तर्गत खेलमा राइजिङ पुणे सुपरजायन्टले जित हात पारेको छ।
शनिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा पुणेले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो। धोनीले अन्तिम बलमा चौका लगाएर पुणेको जित पक्का गरेका थिए। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ७६ रन जोडेको थियो। जवाफमा पुणेले २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएर हैदराबादको जितको आशा समाप्त गरेको थियो।

यस खेलका नायक बनेका धोनी ६१ रनमा नटआउट रहे। ३४ बलको सामना गरेका धोनीले ५ चौका र ३ छक्का प्रहार समेत गरेका थिए। त्यस्तै मनोज तिवारीले उनलाई भरपुर साथ दिएर १७ रनमा नटआउट रहेका थिए। यसअघि ओपनर आजिन्क्य रहाणेलाई २ रनमा विपुल शर्माले सिद्धार्थ कौलद्वारा क्याच गराएर आउट गराएका थिए। त्यस्तै स्टिभ स्मिथ २७ रन बनाएर पवेलियन फर्के। उनलाई रसिद खानले बोल्ड गरेका थिए।

पुणेका लागि उत्कृष्ट खेलिरहेका राहुल त्रिपाठी पनि दुर्भाग्यवश आउट भए। उनी ५९ रन बनाएर रनआउटको सिकार बनेका थिए। रसिदको सीधा थ्रोमा उनको दुर्भाग्य भएको थियो। उनले ६ चौका र ३ छक्का प्रहार गरे। अर्का आउट भएका ब्याटसम्यान बेन स्टोक्सको खातामा ८ रन मात्रै बनेको थियो।

यसअघि ब्याटिङ गरेको हैदराबादको टोली युवराज सिंह विना मैदानमा उत्रेको थियो। शिखर धवन ३० रन बनाएर इमरान ताहिरको बलमा आउट भए। यो हैदराबादका लागि पहिलो झटका थियो। यसपछि डेन क्रिस्चयनले केन विलियमसन (२१) लाई एलबीडब्ल्युको धरापमा राखेर पुणेलाई दोस्रो सफलता दिलाए। जयदेव उनादकटले खतरनाक ब्याटसम्यान डेविड वार्नरलाई ४३ रनमा बोल्ड गरेका थिए। मोइस हेनरिक्स ५५ र दीपक हूडा १९ रनमा नटआउट रहेका थिए।

प्रतिक्रिया दिनुहोस्