तालीवानी आक्रमणमा १ सय ४० सैनिकको मृत्यु



काबुल, (एजेन्सी)
सशस्त्र तालिबान लडाकूहरूले अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको शहर मजार ए शरिफमा कम्तीमा एक सय चालिस जनाभन्दा बढी सैनिक मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ।

सरकारी फौज र तालिवान लडाकूबीच घण्टौंसम्म भिडन्त चलेको थियो। उक्त भिडन्तमा कम्तीमा १० जना लडाकू मारिनुका साथै एक जनालाई नियन्त्रणमा लिइएको सरकारी फौजले जनाएको छ।

ती लडाकूहरूले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको नियमित साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिक र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै गरी एक जना उच्च सैन्य अधिकारीले उक्त आक्रमणमा १ सय ५० जना सैनिकको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएको एएफपी समाचार निकायलाई जानकारी दिएका छन्।
तालिबान समूहले आफ्ना आक्रमणकारीले विस्फोटन गराएको र आत्मघाती हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको दाबी गरेका छन्।

मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २ सय ९औं पल्टन बस्ने गरेको छ। अफगानिस्तानको पश्चिमी क्षेत्रमा स्थानीय बासिन्दाको समर्थन प्राप्त सरकारी फौजले तालिवान र अन्य विद्रोही समूहसँग लामो सयमदेखि युद्ध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्