ठूलो परिमाणको गाँजा जलाएर नष्ट



नेपाल समाचारपत्र
हेटौंडा
बरामद गरिएको गाँजा तथा चरेशहरू कहाँ जान्छ भन्ने जिज्ञासा कोहीकसैलाई हुन्छ। तर, प्रहरीले बरामद गरेको गाँजा जलाएर नष्ट गर्ने गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीले विभिन्न समयमा बरामद गरेको गाँजा तथा चरेश जलाएर नष्ट गरेको छ।

विभिन्न समयमा बरामद गरिएका गाँजा तथा चरेश ओसारपसारमा संलग्न भएकाहरूलाई कारबाही प्रक्रिया चलाएसँगै प्रहरीले गाँजा तथा चरेश नष्ट गरेको हो। मनहरी खोला किनारमा अग्रज, भद्रभलादमी तथा समाजसेवीको रोहबरमा गाँजा जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न समयमा बरामद परेका गाँजामध्ये १ सय ६२ केजी काँकडा गाविस–४ स्थित रामकुमार प्रजाको घरबाट, ७७ केजी आरदेसिं प्रजाको घरबाट बरामद गरिएको हो। सुराकीका आधारमा उनीहरूको घरबाट गाँजा र मानिस पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रहरीले गोली प्रहार गरेर तस्करसँग खोसेको गाँजा पनि नष्ट गरेको छ। मनहरी–२, नयाँ बस्ती हुँदै पास गर्ने क्रममा सुराकीका आधारमा पुगेको प्रहरी टोलीमाथि तस्करले गोली प्रहार गर्दा भएको दोहोरो फायरिङपछि प्रहरीले ५ सय ४६ केजी गाँजा र ५५ केजी चरेश बरामद गरेको थियो। गाँजा र चरेश बरामदसँगै प्रहरीले गोपाल ब्लोन, सुरेश स्यांतान, दीपेन्द्र राई र कृष्ण घलानलाई पक्राउ गरेको थियो।

यीमध्ये दुई जनालाई घटनास्थलबाट र उनीहरूको बयानका आधारमा अरू दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। प्रहरीले केही दिनअघि पनि गाँजा जलाएर नष्ट गरेको थियो। भारतीय गाडीमा हालेर तराईका जिल्लामा लैजान लागिएको बेला सुराकीको आधारमा इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरीले गाडी चेक गर्दा भेटिएको गाँजा पनि नष्ट गरिएको हो।

पछिल्ला दिनमा प्रहरीले सुराकीका आधारमा गाँजा बरामदीको क्रम बढाएको छ। ‘हामीले सुराकीलाई पनि सक्रिय बनाएका छौं’, प्रहरी निरीक्षक चित्रबहादुर घले भन्छन्– ‘तस्करहरूको गाँजा ओसारपसार गर्ने रुटबारेमा निरन्तर जानकारी लिएर निगरानी गरिरहेका छौं।’

गाँजाखेतीको नियन्त्रणसँगै ओसारपसारमा समेत कडाइ गर्न सकिए गाँजाखेती निरुत्साह हुने र तस्करहरूसमेत यो धन्दामा नलाग्ने सन्देश दिने गरी प्रहरीले कारबाही अघि बढाइरहेको उनले जानकारी दिए। लागूऔषध निमिट्यान्न पार्ने गरी काम अघि बढाइरहेको प्रहरी निरीक्षक घलेले बताए।

प्रतिक्रिया दिनुहोस्