मोर्चाले सप्तरीमा मतदाता शिक्षा कार्यक्रम बिथोल्यो



राजविराज, (नेस)
सरकारसँग भएको सम्झौता र सहमति कार्यान्वयन नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरी सदरमुकाम राजविराजमा शनिबार झडप भएको छ।

स्थानीय केअ माविमा शनिबार आयोजित मतदाता शिक्षा स्वयम्सेवक तालिम बिथोल्न जाँदा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। मोर्चाका कार्यकर्ताले तालिम हलभित्र पसेर शैक्षिक सामग्री र आवश्यक कागजात च्यात्ने र नियन्त्रणमा लिन थालेपछि प्रहरीले लाठी प्रहार गरेको हो।

लाठी प्रहारबाट मोर्चाका शम्भु यादव, विनोद यादव, आशोलाल यादल र मनोज राउत घाइते भएका छन्। घाइते सबैको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये शम्भु यादवको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।

मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यक्रम बिथोल्न खोज्दा सामान्य बल प्रयोग गर्नुपरेको डीएसपी लक्ष्मीराज अधिकारीले जनाएका छन्। यसैबीच प्रहरी दमनको विरोधमा मोर्चाका कार्यकर्ताले नगरको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्