अभिनेता सिंहको हृदयघातबाट निधन



अभिनेता तथा फिल्म निर्माता प्रदीप सिंहको निधन भएको छ।
मृगौलाको समस्या ब्यहोरिरहेका उनको भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा निधन भएको हो।

उनको २ वर्षअगाडि मृगौलाले काम गर्न छोडेको थियो। उनले भारतको कलकत्ता गएर मृगौला प्रत्यारोपण गराएका थिए। त्यस क्रममा हृदयघात भए पनि उनी सफल मृगौला प्रत्यारोपणपछि काठमाडौं फर्केका थिए। काठमाडौं आएपछि पनि उनी उपचारमै थिए। तर केहीअघि स्वास्थ्यमा समस्या भएपछि उनलाई परिवारले उपचारका लागि कलकत्ता पुर्याएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनको निधन भएको बताइएको छ।

५८ वर्षीय उनको शुक्रबार बेलुकी ५ बजे निधन भएको हो। उनको पार्थिव शरीरलाई अस्पतालको औपचारिकता पूरा गरे पनि सोमबार कलकत्ताबाट नेपाल ल्याइने भएको छ। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको प्रागंणमा राखिने भएको छ।

निर्माता निर्देशक तुलसी घिमिरेका साथ फिल्म निर्माणसमेत गरेका उनको फिल्मी यात्रा अनौठो ढंगबाट शुरु भएको थियो। त्यस बेला पञ्चायतको पक्षपोषण गर्दै २५ वसन्त नामक फिल्म निर्माण भइरहेको थियो। जसमा बस व्यवसायीसमेत रहेका उनको मिनीबस प्रयोग भएको थियो। २५ वसन्तको सुटिङ कार्यका लागि मिनीबस दिएपछि आउँदा जाँदा फिल्मको काम हेरेपछि उनी फिल्मक्षेत्रप्रति आकृष्ट भएका थिए। त्यसपछि उनले कोसेली, चिनो, बलिदान, गोठालो, संकल्प, अन्याय, रहर, देउता, दुई थोपा आँशुलगायत दर्जनौं फिल्ममा अभिनय गरेका थिए। सानो र ठूलो पर्दाका फिल्ममा विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएका सिंहले टाढाको वस्ती, चक्रब्युहजस्ता सिरियलमा पनि अभिनय गरेका थिए। उनको पछिल्लो फिल्म पद्मिनी थियो।

उनको परिवारमा १ छोरा, २ छोरी र श्रीमती छन्। २०१५ साल असार १४ गते राजधानीको बौद्धमा जन्मिएका उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यसमिती सदस्य तथा अभियानका सदस्य थिए। उनी हल व्यवसायी पनि थिए।

प्रतिक्रिया दिनुहोस्