बालबालिकाको नाटक



थिएटर मल नाटकघरको मञ्चमा बालबालिकाहरु मात्र थिए। दर्शक दीर्घामा भने बालबालिकासहित अभिभावक पनि ध्यान मग्न थिए।

मञ्चमा रहेका बालबालिका दर्शकले दिएका विषय र प्रसंगमा तत्कालै कथा बुन्न र अभिनयमार्फत सो कथा भन्न मस्त थिए। पछि उनीहरुले पूर्ण नाटक नै मञ्चन पनि गरे।

काठमाडौंमा बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावकमाझ नाटक मञ्चन गरेको हो। बालबालिकाले म जोकर बन्छु नामक नाटक मञ्चन गरेका थिए।

नेपाली बालसाहित्यका पिताका रूपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको नाटक म जोकर बन्छुलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्। टीसीसी नेपालको बालबालिकाका लागि अभिनय कार्यशालाको अन्तिम दिन बालबालिकाले नाटक मञ्चन गरेका हुन्। नाटकमा सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका थिए।

बाल मनोविज्ञानमा आधारित नाटक म जोकर बन्छुमा अभिभावकले वेवास्ता गरेपछि बालबालिकामा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको थियो। बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दिँदा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको थियो।

अभिनय कार्यशालामा ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए। अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युस्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल, प्रिन्स सिलवालले नाटक म जोकर बन्छुमा अभिनय गरेका थिए।

थिएटर मल र टीसीसी नेपालले हरेक वर्ष बालबालिकाका लागि अभिनय कार्यशाला गर्दै आएको निर्देशक केदार श्रेष्ठले जानकारी गराए।

बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आसितेज इन्टरनेसनलेले ‘बालबालिकालाई पनि नाटकघर लैजाऔं’ भन्ने अभियानअन्तर्गत बाल नाटकको गतिविधि नेपालमा भइरहेको आसितेज नेपालका दीपर्शनजंग राणाले जनाए।

प्रतिक्रिया दिनुहोस्