५ तीर्थयात्रीको मृत्यु, मृतक सबै काठमाडौं र ललितपुरका



मुस्ताङ, (नेस)
मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किंदै गरेको एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। उक्त दुघर्टनामा ३० जना घाइते भएका छन्।

मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको ना५ख ६०६७ नम्बरको बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित मन्दिर जाने सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा २ जना महिला र ३ जना पुरुष गरी ५ जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। उक्त बस भिरालो बाटोमा अचानक अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो।

मुस्ताङ प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–२ का ५५ वर्षीय लीला खड्का, काठमाडौं महानगरपालिका–३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, ललितपुर महालक्ष्मी नगरपालिका–८ का ४० वर्षीया सीता तिमिल्सिना र काठमाडौं महानगरपालिका–३ का ७० वर्षीया कान्छी खड्का रहेका छन्।

मृतकहरूको शव जोमसोम अस्पतालमा राखिएको छ भने घाइतेहरूलाई सेनाको हेलिकोप्टरबाट पोखरा पठाइएको छ। प्रत्यक्षदर्शीका अनुसार बस पल्टिँदा मृतकहरूको बसले च्यापेर ज्यान गएको थियो। उक्त बस काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएको थियो। घाइते यात्रुहरूले ड्राइभरको लापरबाहीले उक्त घटना भएको आरोप लगाएका छन्। दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट करिब २३ किलोमिटर टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्