बारा र रौतहटको वनमा गैंडा बढे



गोकुल घोरसाइने, बारा
पर्सा वन्यजन्तु आरक्षको जंगलबाट भौंतारिँदै पुगेको एउटा गैंडा नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको भोलिपल्ट रौतहटमा फेरि अर्को एकसि·े गैंडा पनि देखा परेको छ। चन्द्रपुर नपा–४ स्थित कप्तानटोलका स्थानीयले बस्ती नजिकको खेतमा आलो पाइला फेला पारेपछि आसपासको जंगलमा अर्को गैंडा पनि रहेको ठहर गरेका हुन्।

जंगलबाट शुक्रबार बिहान पसेको गैंडाले स्थानीय कृष्णप्रसाद तिमल्सिनाको खेतमा लगाएको मकै बाली खाएर नष्ट पारेको थियो। जिल्ला वन कार्यालय रौतहटले पनि स्थानीयले बस्ती आसपासको जंगलमा अर्को गैंडा पनि रहेको भनेर दिएको सूचनाको आधारमा सो उक्त क्षेत्रमा निगरानी बढाएको बताएको छ।

‘अर्को पनि देखा परेको खबर आएको छ’, जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले भने– ‘संरक्षणका लागि सुरक्षा निगरानी बढाइएको छ।’ कोइरालाले स्थानीयले एक महिनादेखि जंगलमा २ गैंडा देखा परेको सूचना दिँदै आएको र एउटा नियन्त्रणमा लिएर उद्धार गरिएको भोलिपल्ट अर्को देखा पर्नुले जंगलमा अर्को बाँकी नै रहेको पुष्टि भएको कोइरालाले बताए।
यसअघि रौतहटको आपखोलास्थित हातेमालो सामुदायिक वन क्षेत्रमा फेला परेको अर्को गैंडा पर्सा वन्यजन्तु आरक्ष र निकुञ्जबाट खटेको सुरक्षाकर्मी र प्राविधिक टोलीले बिहीबार नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जस्थित जंगलमा सारेको थियो। आरक्षको अमलेखगन्जस्थित हात्तीसाटबाट ८ हात्तीसहित खटेको टोलीले डाटिङपछि नियन्त्रणमा लिएर गैंडा सारिएको हो।

टोलीले बारा र रौतहटको गैंडाटार, जंगलसैंया, हिलेखोला, विश्रामपुर, धन्सार र रंगपुर क्षेत्रको जंगलमा १ सातासम्म खोजी गरेको थियो। रौतहटको जंगलमा फेला परेको गैंडा चोरी सिकारीबाट असुरक्षित हुन सक्ने आशंकाले सुरक्षाको लागि चितवनको सौराहा जंगलमा सारिएको पर्सा वन्यजन्तु आरक्षका वार्डेन हरिभद्र आचार्यले बताए।

एउटा सारिएलगत्तै रौतहटमा अर्को पनि देखा परेको सूचना आएकाले स्थानान्तरण गर्ने बारेमा भने छलफल भइरहको बताए। ‘लगातार देखा पर्नुले उक्त क्षेत्रमा अरू धेरै पनि हुन सक्ने अनुमान गर्न सकिन्छ’, उनले भने– ‘त्यस्तो अवस्थामा सारिरहनुभन्दा स्वस्थानमा नै संरक्षण गर्नु उपयुक्त हुन्छ।’ उनले बारा र रौतहटको जंगल पनि प्राकृतिक बासस्थानको दृष्टिले अनुकूल रहेका र उक्त क्षेत्रलाई पछिल्लो समय ३⁄४ भन्दा बढी गैंडाले स्थायी बासस्थानका रूपमा प्रयोग गर्दै आएको पनि सुनाए।

प्रतिक्रिया दिनुहोस्