तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु



मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिनुभयो ।

२६ जना सवार बसमा अन्य सामान्य घाइते भएको बताइएको छ । “घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला आन्तरिक तथा बाह्य तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्