मुलुक निर्वाचनमा होमियो- प्रधानमन्त्री



काठमाडौँ, ९ वैशाख । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताउनुभएको छ ।

अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उहाँले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आम नेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजनाबारे छलफल भएको थियो ।

अमेरिकी सिनेटरद्वयले नेपाल सरकारको समृद्धि र विकासको सोचप्रति मतक्यैता प्रकट गर्दै राजनीतिक एवम् सामाजिक क्षेत्रका साथै नेतृत्व तहमा महिलाको उपस्थिति विश्वका लागि नमुना भएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँहरूले नेपालको चौतर्फी विकासमा अमेरिकाले सघाउने र सध सकारात्मक रहने आश्वासन दिनुभएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत आलाइना टेप्लिज पनि उपस्थित हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्