निर्वाचनमा बालबालिकाको प्रयोग नगरिने प्रतिबद्धता



नेपालगन्ज, ९ वैशाख । बाँके जिल्लाका राजनीतिक दलहरुले स्थानीय निकाय निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला बालकल्याण समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘स्थानीय निकाय निर्वाचन र बालअधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयमा राजनीतिक दलका पदाधिकारी, प्रतिनिधिसँग गरिएको छलफलपछि दलहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, युनिसेफको सहयोगमा आयोजित कार्यक्रममा वीरेन्द्र थापाले बालबालिकासम्बन्धी कानुन, ऐन, उनीहरुको प्रयोगको प्रावधान, निर्वाचन आचारसंहितालगायत बाल अधिकारसम्बन्धी अन्य व्यवस्थाबारेको प्रस्तुतिमा सहभागीबीच छलफल समेत गराइएको थियो ।

त्यस अवसरमा प्रजिअ रविलाल पन्थले निर्वाचन र राजनीतिक दलका अन्य कुनै पनि क्रियाकलापमा बालबालिकाको प्रयोगमा रोक लगाइएको बताउँदै यसमा जिल्ला बालकल्याण समितिले अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी गराउनुभयो ।

स्थानीय निकाय निर्वाचनमा बा“के जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाता छन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा एक लाख २५ हजार नौ सय ३९ पुरुष, एक लाख २० हजार एक सय ४१ ज् महिला र एक तेस्रो लिङ्गीले मतदान गर्न पाउने छन् ।

दोस्रो संविधानसभा सदस्य निर्वाचनभन्दा ४४ हजार मतदाता आगामी निर्वाचनमा बढी छन् । “दोस्रो संविधानसभा सदस्य निर्वाचनमा दुई लाख नौ हजार १६७ जना मतदाता थिए”, निर्वाचन अधिकारी वसन्तराज अधिकारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्