तिला–१ जलविद्युत् आयोजनामा स्थानीयलाई शेयर



कालीबहादुर मल्ल, कालिकोट

ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घरपरिवारलाई तिला–१ जलविद्युत् आयोजनामा कम्तिमा एक÷एक लाख रुपियाँको शेयर दिलाउने भएको छ। स्थानीयलाई शेयर दिने निर्णयसँगै कर्णालीका स्थानीयबासी उत्साहित भएका छन्।कर्णालीमा ठूलो जलविद्युत् आयोजना बन्न लागेको र कर्णाली स्थानीयलाई शेयर दिने सरकारी निर्णयले स्थानीयबासी उत्साहित भएका हुन्।

४ सय ४० मेगावाट क्षमताको तिला आयोजना बनाउन झण्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। ऊर्जा मन्त्रालयले निर्णयले स्थानीयबासी उत्साहित हुनुका साथै जलविद्युत् आयोजना चाँडो बनाउन स्थानीयबासीको माग रहेको तिला कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक एससी पावर कम्पनीका फिल्ड प्राविधिक दर्वबहादुर शाहीले बताउनुभयो।

‘ऊर्जा मन्त्रालयको निर्णयले स्थानीयबासी निकै उत्साहित भएका छन्।’ उहाँले भन्नुभयो–‘जलविद्युत् आयोजनाको काम छिटो अगाडि बढाउन स्थानीयले मागसमेत गरेका छन्।’

कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका सबै परिवारलाई एक÷एक लाख रुपियाँको शेयर दिने निर्णय कर्णालीबासीका लागि निकै उत्साहपूर्ण रहेको कालिकोट उद्योग बाणिज्य संघका महासचिव तिलबहादुर शाहीले बताउनुभयो।

‘तिला जलविद्युत्मा स्थानीयको लागनी बन्न लागेको छ।’ उहाँले भन्नुभयो–‘लामो समयदेखिको हाम्रो मागलाई सरकारले सम्बोधन गरेको छ।’ कम्पनीले कालिकोटमा २ वटा आयोजना निर्माण गर्ने अनुमति पाएको छ।
तिला–१ र २ को पीपीए सम्झौता भइसकेको तर पीडीए सम्झौता हुन केही ढिलाइ भएका कारणले काम अगाडि बढ्न नसकेको एसी पावर कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्