अमेरिका निर्यात गर्दा थप ११ वस्तुमा शून्य भन्सार सुविधा



काठमाडौं, (नेस)
नेपालका लागि अमेरिकी राजदुत अलाइना बी टेप्लिजले नेपालको वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सकारात्मक रहेको बताउनुभएको छ।

नेपाल र संयुक्तराज्य अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्धेश्यले सन् २०११ अप्रिलमा हस्ताक्षर भएको नेपाल अमेरिकी व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) अन्तर्गत गठित टिफा काउन्सिलको तेस्रो बैठकमा राजदूत टेप्लिजले उक्त धारणा राख्नु भएको हो।

अमेरिकाले भूकम्पपश्चात प्रभावित नेपालको अर्थतन्त्रलाई सहयोग पुर्याउने उद्धेश्यले नेपालबाट अमेरिकामा निर्यात हुने ११ वटा थप वस्तुको निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराउने भएको छ। यसअघि यस्ता ६६ वस्तु अमेरिका निर्यातमा भन्सार छुट पाउँदै आएको थियो।
अमेरिकी सरकारको निर्णयलाई स्वागत गर्दै नेपाली पक्षले ती वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक सहयोग विस्तार गर्न अनुरोध गरेको छ। साथै नेपालका अन्य प्रतिस्पर्धी वस्तुहलाई पनि आगामी दिनमा सहुलियतपूर्ण बजार सुविधा उपलब्ध गराई नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सहयोग पुर्याइदिन नेपाली पक्षले अमेरिकी प्रतिनिधिमण्डललाई अनुरोध गरेको छ।
बैठकमा नेपालले बौद्धिक सम्पत्ति संरक्षण, श्रम, वित्तीय सेवा, प्रत्यक्ष वैदेशिक लगानी, मानव तथा वनस्पति स्वास्थ्य संरक्षण, खाद्य सुरक्षा तथा वस्तुको गुणस्तर प्रमाणीकरणका क्षेत्रमा कार्यान्वयनमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो।
वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र संयुक्त राज्य अमेरिकाको तर्फबाट एसिस्टेन्ट युनाइटेड स्टेट रिप्रिजेन्टेटिभ मार्क लिन्स्कटले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको उक्त बैठकमा दुवै देशका वाणिज्य, अर्थ, परराष्ट्र, उद्योग, भन्सार, गुणस्तर प्रमाणीकरण तथा बौद्धिक सम्पत्तिको संरक्षण लगायतका व्यापारसँग अन्तरसम्बन्धित मन्त्रालय तथा निकायका उच्च पदाधिकारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्