लाखौं लिटर पेट्रोल गायब



दीपेन्द्र थापा, काठमाडांै

नेपाल आयल निगमले औसत मागभन्दा दैनिक साढे २ लाख किलोलिटरभन्दा बढी पेट्रोल वितरण गर्दै आएको भए पनि बजारमा पेट्रोल सहज हुन सकेको छैन। सहज तरिकाबाट नियमित पेट्रोलको आपूर्ति गरे पनि नयाँ वर्ष शुरूआत भएदेखि नै बजारमा पट्रोलको अभाव हुँदा निगम र आपूर्ति मन्त्रालय नै अन्योल परेका छन्।

आयल निगमका अनुसार काठमाडौं उपत्यकामा औसत दैनिक ४ लाख ५० हजार किलोलिटर पेट्रोल खपत हुँदै आएको छ। तर, निगमले त्योभन्दा बढी आपूर्ति गरेको दाबी गरेको छ।

बढी आपूर्ति हुँदा पनि पट्रोल पम्पहरूमा सवारी सधानको लाइन हुनु र कतिपय पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुण्डिएपछि निगमले बिक्री गरेको लाखौं लिटर पेट्रोल कता गयो ? भन्ने विषयमा सरकार स्वयम् अन्योलमा परेको हो। बजारमा पेट्रोलका अभावका विषयमा शुक्रबार अबेरसम्म आपूर्ति मन्त्रालयमा छलफल भए पनि कुनै निष्कर्श ननिस्किएको स्रोतले बतायो। स्रोतका अनुसार आश्चर्यजनक तरिकाबाट पेट्रोलको अभाव देखिएको छ। अनुगमनका क्रममा पनि खासै ठोस कारण देखिएको छैन।
काठमाडौं उपत्यकाका निम्ति आइतबार ६ लाख २५ हजार किलोलिटर, सोमबार ५ लाख ३० हजार किलोलिटर, मंगलबार ४ लाख ३० हजार, बुधबार ५ सय ५०, बिहीबार ४ लाख ६६ हजार किलोलिटर र शुक्रबार ६ लाख ८० हजार किलोलिटर पेट्रोल वितरण गरेको तथा शनिबार पनि डिपो खुला राख्ने निगमले जनाएको छ।

दैनिक लाखौं लिटर पेट्रोल बढी आपूर्ति हुँदा पनि अभाव हुँदा सर्वसाधारणले भण्डारण गरी राखेको अनुमान गरिएको छ। तर, त्यति धेरै परिमाणमा सर्वसाधारणले पेट्रोल भण्डारण गर्दा जोखिम हुने भन्दै कतै व्यवसायीहरूले पेट्रोल लुकाएका त छैनन् भन्नेतर्फ उपभोक्तावादीको आशंका छ। अर्कोतर्फ पेट्रोलको मूल्य वृद्धि हुनसक्ने हल्ला फैलिएकाले पनि यस्तो स्थिति उत्पन्न भएको बताइएको छ।

त्यस्तै स्थानीय चुनावको मिति नजिकिएसँगै मधेसी मोर्चाले निर्वाचनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेपछि सर्वसाधारणमा एक किसिमको त्रास उत्पन्न भएको छ। त्यही त्रासका कारण सर्वसाधारणले इन्धन भण्डार गरेका कारण पेट्रोल पम्पहरूमा लाइन देखिएको निगमको अनुमान छ।

नेपाल आयल निगमका बिक्री वितरण विभाग निर्देशक एवम् प्रवक्ता सीताराम पोखरेलले नियमितभन्दा बढेको बजार माग धान्न निगमले भैरहवा नाकाबाट ६० हजार किलोलिटर र नेपालगन्ज नाकाबाट १ लाख किलोलिटर थप इन्धन आयात गरिरहेको बताउनुभयो। नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमको व्यवस्थापकीय पक्षको कमजोरीका कारण इन्धन माग व्यवस्थापन हुन नसकेको बताउनुभयो।

उहाँले भन्नुभयो–‘निगमले सहज बनाउछौं भने पनि सरकार र निगमले सहजीकरणका लागि कुनै ठोस पहल चालेको छैन।’ आर्थिक वर्षको अन्त्यतिर भएर ठूला कस्ट्रक्सन कम्पनीले काम पूरा गर्न पनि ठूलो मात्रमा इन्धन खपत गर्ने भएकाले बजारमा इन्धन अभावको समस्या रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो। प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले डिपो तथा पम्पहरूले मौज्दात राख्न नचाहने कारणले समस्या देखिएको बताउनुभयो।

‘सरकारसँग इच्छाशक्ति हुने हो भने कहाँ कसरी इन्धन चुहावट भइरहेको छ भनेर तत्काल सरकारले खबरदारी गर्न सक्छ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयो। उहाँले भन्नुभयो–‘विगतमा पनि नाकाबन्दीको समयमा इन्धन अभावमा ठूलो घाटा बेहारेका उद्योग व्यवसायीले बन्द हड्तालको हल्ला र तराईमा बढ्दै गएको राजनीतिक अस्थिरताले गर्दा इन्धन मौज्दात बढाउँदै गएकाले बजारमा इन्धन अभाव देखिएको हो।’

यता निगमको थानकोट डिपो प्रमुख नेत्रप्रसाद काफ्लेले बजार मागअनुसार नै उपलब्ध गराउन मुस्किल रहेको अवस्थामा डिपोमा कुल क्षमताको एक तिहाई मात्रै पेट्रोल मौज्दात रहेको बताउनुभयो। थानकोटमा पेट्रोल १२ लाख किलोलिटर भण्डारण क्षमता छ। डिजेल भने ८४ लाख किलोलिटर भण्डारण क्षमता रहेकोमा अहिले पनि ८० लाख किलोलिटर मौज्दात रहेको काफ्लेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्