कलाकारितामा रम्दै रञ्जु



कृष्णउदास खनाल, वीरगन्ज

बाराको निजगढमा जन्मिएकी रञ्जु अधिकारी अहिले काठमाडौंमा संघर्ष गर्दै छिन्। उनी विद्यालयमा पढ्दै गर्दा उनको नाच देखेर नलोभिने कमै थिए होलान्। सानैदेखि नाच्न निकै सिपालु रञ्जुमा काठमाडौं छिरेर देशकै ठूलो अनि नामुद कलाकार बन्ने सपना छ।
यही सपना पूरा गर्न उनले वाक्क दिक्क, मरिहत्तेलगायतका हास्य टेलिशृंखलाहरुमा काम गरिसकेकी छन्। करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरेर आफूलाई खार्ने र चिनाउने प्रयास पनि गरिरहेकी छिन्। लोक गीतसहित आधुनिक र पपलगायतका गीतका म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरी उनी आफूलाई कलाक्षेत्रमा स्थापित गराउने कोसिसमा छिन्।
केही गीतका म्युजिक भिडियो बजारमा आइसकेको र केही आउने तयारीमा रहेको उनले नेपाल समाचारपत्रलाई जानकारी गराइन्। आफ्नो रुचि सानैदेखि गीत संगीतको क्षेत्रमा भएका कारण आफू यो क्षेत्रमा विभिन्न संघर्ष गर्दै लागिपरेको उनी बताउँछिन्। गीत संगीतबिनाको जीवन सार्थक नहुने भन्दै उनले कलाकारिताबाट जीवन धान्न निकै धौधौ रहे पनि यसबाट पछि नहट्ने बताइन्।
महिलाहरुलाई खुला रुपमा अझै अभिनयमा लाग्नका लागि प्रेरित गर्ने जमातहरुको संख्या कम रहेको उनको अनुभव छ।
कलाकार हुँदैमा सबै कुरा बिग्रन्छ भन्ने सोच नै गलत भएको उनको तर्क छ। उनी आफ्नो घरपरिवार र समाजसँग संघर्ष गरेर यो क्षेत्रमा आएको र आफ्नो एउटै मात्र लक्ष्य भनेको कलाकारितामा जीवन बिताउनुरहेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्