श्वेताको अभियानलाई सहयोगी हात



नायिका तथा निर्मात्री श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित झ्याडी माझी गाउँमा निर्माण गर्न लागेको एकीकृत माझी बस्तीका लागि विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ।

राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै श्वेता खड्का र उनका नायक तथा निर्मँता पति स्व. श्रीकृष्ण श्रेष्ठको श्वेताश्री फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरियो भने सहयोग गर्ने व्यक्ति र संघसंस्थालार्ई सम्मानपत्र प्रदान गरिएको थियो। फाउन्डेसनलाई अमेरिकाबाट श्री पराजुलीले ३ लाख, मानव सेवा केन्द्रका अध्यक्ष शान्ता क्षेत्रीले एक लाख, जापानबाट आरोही सुवेदीले ५० हजार र शान्ता वस्नेतले ५० हजार रुपियाँ सहयोग गरेका छन्।

फाउन्डेसनकी अध्यक्ष तथा नायिका श्वेता खड्काले एकीकृत माझी बस्ती निर्माणका लागि सबैको सहयोग आवश्यक भएकाले सहयोग गर्न इच्छुक देश विदेशमा रहेका सम्पूर्णलाई आह्वान गरेकी छिन्। ‘यो प्रोजेक्टका लागि सरकारबाट ३ लाख रुपियाँ सहयोग आउने भएको छ।

६२ घरहरु निर्माणका लागि लगभग १७ रोपनी मात्र जग्गा रहेको छ। त्यसमै पनि बाटोघाटोका लागि स्थान छोड्नुपर्ने हुन्छ।
सरकारले ब्याङ्कमार्फत भूकम्प प्रभावितका लागि सहुलियत ब्याजमा ऋण दिने व्यवस्था गरेको छ। तर सकेसम्म म उहाँहरुलाई ऋण बोकाउन चाहन्नँ’, कार्यक्रममा श्वेताले जानकारी गराइन्– ‘सबैको सहयोग प्राप्त भयो भने छिट्टै बस्ती निर्माण गरी हस्तान्तरण गर्न सकिन्छ। त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु।’

उनी गत बुधबार घरको डिजाइन, प्रमाणीकरण, जग्गा व्यवस्थापन, प्राविधिक नाप तथा फाउन्डेसनको कार्यालय स्थापना लागि माझी बस्ती पुगेकी थिइन्।

कार्यक्रममा मानव सेवा केन्द्रका उपाध्यक्ष डा. गोपाल पौडेल श्वेताले निर्माण गर्न लागेको बस्तीमा संस्थाका तर्पmबाट सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए। ‘हामीले त्यही गाउँका माझी बस्तीका बालबालिकालाई स्कुल ड्रेस वितरण गरेका थियौं। अहिले उनीहरुकै लागि बस्ती निर्माण गर्न सहयोग गर्न पाउँदा निकै खुसी लागेको छु।’ –उनले भने।

नेपाल सरकारले दिएको अनुदान रकमबाट मात्र भवन निर्माण गर्न रकम अपुग हुने र छु्ट्टाछुट्टै घर निर्माण गर्न पनि आर्थिक अभावका कारण भूकम्प गएको २ वर्षसम्म घर निर्माण गर्न नसकेका चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित झ्याडीमाझी बस्तीका माझी समुदायमा नायिका श्वेता खड्काको व्यवस्थापनमा सरकारले दिएको अनुदानमा सहयोग रकम थप गरी बस्ती निर्माण हुन लागेको तथा वैशाख दोस्रो हप्ताबाट बस्ती निर्माण शुरू हुने जानकारी कार्यक्रममा दिइयो।

कुल ६२ घर निर्माण गरिने भनिएको नमुना बस्तीको लागत कुल ५ करोड ४२ लाख रहेको छ भने बगैंचा, बाटोघाटो, बायोग्यास, मठमन्दिर तथा होम स्टेसहितको पर्यटकीय स्थानका रुपमा बस्तीको निर्माण गर्ने बताइएको छ।

केही समयदेखि पर्दाबाट टाढै रहेर सामाजिक काममा सक्रिय श्वेता फिल्म क्षेत्रमा पनि फर्किएकी छिन्। उनले केही समयअघि कान्छी नामक फिल्म निर्माणको घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्