ललितपुर महानगरमा महर्जनको दाबेदारी



ललितपुर महानगरपालिका–१७ हकटोलका प्रेमलाल महर्जनले आसन्न स्थानीय निकायको निर्वाचनमा मेयरको दाबेदारी प्रस्तुत गरेका छन्। उनी आफूलाई ललितपुरको बलियो उम्मेदवारको रुपमा चिनाउन चाहन्छन्। पञ्चायती कालमा लागु गरिएको गाउँफर्क राष्ट्रिय अभियानको विरोधको जुसुसमा सामेल भएदेखि नै राजनीतिमा लागेका महर्जन ललितपुर महानगरपालिकालाई सक्षम नगर बनाउने योजनामा रहेका छन्।

२०२८ सालमा प्रभात पुस्तकालयको निर्वाचनमा अध्यक्ष भएपछि महर्जन सामाजिक क्षेत्रमा क्रियाशील भएका थिए। नेपाली कांग्रेस निकट भए पनि स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी घोषणा गरेका उनले अन्य दलको उम्मेदवारको तुलनामा सक्षम र बलिया उम्मेदवारको दाबी गरेका छन्। उपभोक्ता अधिकारकर्मीका रूपमा राष्ट्रिय उपभोक्ता मञ्चको नेतृत्व गर्दै देशको ७० जिल्लामा संगठन बिस्तार गर्दै आम उपभोक्ताको पक्षमा काम गर्दै आएका उनले जित हातपार्ने विश्वास लिएका छन्। जिल्लाको समग्र विषयमा जानकार महर्जन वामपन्थी राजनीतिक आन्दोलनका अग्रज पुष्पलाल श्रेष्ठको अगुवाइमा सञ्चालित कम्युनिस्ट आन्दोलनलाई आफ्नो मूल लक्ष्यको रुपमा लिएका थिए।

उनी भन्छन्– ‘कम्युनिस्ट विचारधारा अँगाल्दै २०३३ सालमा कम्युनिस्ट आन्दोलनको विघटनपछि बिरक्तिएको मेरो राजनीतिक मन २०३६ सालको बहुदल प्राप्तिको आन्दोलनले उत्प्रेरित भयो।’ आफूलाई सक्षम राजनीतिक कार्यकर्ताको रुपमा स्थापित गर्न चाहने महर्जन बहुदल र निर्दलका लागि भएको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेरै अभियान चलाउँदै आन्दोलनमा पुनः होमिएका थिए।

उनको भनाइमा २०३७ साल वैशाख १० गते भएको जनमत संग्रहमा बहुदल पराजित भए तापनि हरेस नखाई पहिलो सुधारिएको पञ्चायती व्यवस्थाको बालिग मताधिकारसहितको २०४२ सालको चुनावमा सक्रिय भएको दाबी गर्छन्।

२०४३ सालमा कांग्रेसको आउटपोस्ट कब्जा गर्ने नीतिअनुसार नगरपालिकाको चुनावमा तत्कालीन प्रनेकाका प्रधानपञ्चका उम्मेदवार ओमकारप्रसाद श्रेष्ठ र उप–प्रधानपञ्चका उम्मेदवार जगतराज शाक्यलाई जिताउन आफू क्रियाशील भएको उनी स्मरण गर्छन्। ‘त्यसबेला गठित प्रनेकाको चुनाव प्रचार समितिमा रहेर विधिवत् कांग्रेसी कार्यकर्ताको रुपमा काम गरी नेपाली कांग्रेसको महायात्रामा सम्मिलित भएको थिएँ।’ –उनले भने।

कुम्भेश्वर युनेस्को क्लबको महासचिवको हैसियतले २०४२ सालदेखि स्थानीय विकासमा सक्रियता जनाएका उनले २०४६ सालको जनआन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि गठित नागरिक सुरक्षा समितिको सल्लाहकारको रुपमा काम गर्दै जनआन्दोलनमा पूर्णरूपमा सहभागिता जनाएका थिए।

प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेसको नगर वडा कमिटीहरु गठन गर्दै नगरको २२ वडाको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरिसकेका महर्जनलाई अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले समर्थन गर्ने योजना बुनिरहरेको उनको दाबी छ।

महर्जन राजनीतिक यात्रालाई निरन्तरता दिने क्रममा २०४८ सालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेस २ नं. क्षेत्रको चुनाव प्रचार समितिको सचिवको हैसियतले पूर्ण कमान्डका साथ पार्टीका उम्मेदवार मार्शल जुलुम शाक्यलाई जिताउन लागिपरेका थिए। उनी २०४९ सालको ललितपुर उपमहानगर पालिकाको चुनावमा संयोजकको जिम्मेवारी लिई पार्टीका मेयर, उपमेयरलगायत सबै पदाधिकारीहरुलाई जिताउनका लागी कमान्ड गर्ने काम गर्ने जिम्मेवारी पाएका थिए। त्यो बेलाको चुनावमा नेपाली कांग्रेसलाई नगरमा दुई तिहाइ बहुमतले जिताउन सफल भएका उनी २०५६ भएको महाधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएका थिए।

२०५८ मा पार्टी विभाजन भई प्रजातान्त्रिक कांग्रेसको पक्षमा लागेका थिए। २०६२ मा भएको ११औं महाधिवेशनबाट महासमितिको सदस्य भएका उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा भएको स्थानीय निर्वाचनमा साइकल चिह्न लिई स्वतन्त्र उम्मेदवारका रुपमा ललितपुर उपमहानगर पालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी भन्छन्– ‘त्यो बेला करिब ८० हजार मत ल्याई विजयी बनेको थिए, मेरो पक्षमा अहिले पनि ठूलो बहुमत छ।’

२०५५ सालमा नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षकका रुपमा नियुक्त भएपछि देशभरमा नेपाली कांग्रेसको सिद्धान्त, विचार र सूचनालाई सम्प्रेषण गर्दै हिँडेका उनले २०५१ सालमा नेपाली कांग्रेसका नेतात्रेयको सहमतिमा तरुण साप्ताहिकको प्रकाशन गर्ने काम गरे।

अहिले पनि देशभरमा नै उपभोक्ता अधिकार र हित रक्षाका लागि सचेतनाका कार्यक्रम र अभियानलाई निरन्तरता दिँदै उपभोक्ता टाइम्स मासिक पत्रिका प्रकाशनसमेत गर्दै आएका छन्।

यसपटकको निर्वाचनमा आफू विजयी बनेमा ललितपुरलाई विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्