हेटौंडाको मेयरमा धमाधम घोषणा



रोशन पराजुली, हेटौंडा

चुरेभावर राष्ट्रिय एकता पार्टीबाट केन्द्रीय उपाध्यक्ष राजाराम बोगटी स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाबाट मेयरमा उम्मेदवार घोषणा भएका छन्। पार्टीको केन्द्रीय कमिटीले बोगटीलाई मेयरमा उमेदवार बनाउने निर्णय गरेको हो।

२०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनेका बोगटी युवा व्यवसायी हुन्।

मेयरको उम्मेदवार भएपछि बोगटीले आफू मेयरमा विजयी भएमा हेटौंडामा विकासको लहर ल्याउने बताए।
बोगटी हेटौंडामा घोषणा भएका मेयर उम्मेदवारमध्ये हालसम्म कान्छा हुन्।

१० दिनदेखि जनताको घरदैलो गरिरहेका हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार एवं नेकपा माले मकवानपुरका सचिव भीमसेन महतले भैरवडाँडामा रहेको बाटोको समस्याबारे चासो राखेका छन्।

बिहीबार बसामाडी हुँदै भैरवडाँडादेखि नकौली घ्याङ्सिङटारसम्म घरदैलो गरेका महतले भैरवडाँडाबाट नकौलीसम्म जाने बाटोको अवस्था कठिन रहेको बताएका छन्। त्यहाँ खानेपानी समस्या पनि उत्तिकै रहेकामा उनले दुःख व्यक्त गरेका छन्।

त्यस क्षेत्रमा बाटो वरपर रहेका बिजुलीका पोलहरु जीर्ण अवस्थामा रहेको र कंक्रिटको पोल राख्नुपर्ने अवस्था रहेको उनले बताए।

कहिले श्रमदान गरेर त कहिले भ्रष्टाचारलाई निमिट्यान्न पार्ने कार्य गरेर मकवानपुरबासीको मन जितिरहेका महतले घरदैलोमा पुगेका हरेक स्थानमा आफूले चुनावमा हारे पनि विकासका लागि पहल गर्ने बताउँदै आएका छन्। जनताको पिरमर्का देखेर दुःखी भएका महतले राम्रो काम गर्ने नेतालाई जनताले विश्वास गर्दा रहेछन् भन्ने अनुभूति पनि घरदैलो कार्यक्रमबाट संगालेको बताएका छन्।

२०७३ सालको फागुनमा काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि राप्रपाका नेता मधु अधिकारीको राजनीतिक भविष्यको विषयमा मकवानपुरमा निकै टीकाटिप्पणी भए। अधिकारी आफै पनि परिणामबाट असन्तुष्ट बन्नु स्वाभाविक थियो। तर, उनी नै राप्रपाका लागि आवश्यक नेतृत्व हो भन्ने राप्रपाका कार्यकर्तामाझ निराशा छाएको थियो।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा भएको एकता महाधिवेशनको परिणामले अब हेटौंडाका राप्रपाको मेयर केन्द्रीय सदस्य दीपकबहादुर सिंह नै हुनसक्ने आकलन गरिएको थियो।

तर, समय फेरियो। अनि, विश्लेषणहरु पनि। राप्रपाले हेटौंडामा चुनावीसभाको आयोजना गर्यो। चुनावीसभामा राप्रपा अध्यक्ष कमल थापाले राप्रपाका तर्फबाट मधु अधिकारीलाई हेटौंडा हाँक्ने जिम्मेवारी प्रदान गरेको भन्दै उनको उम्मेदवारीको आधिकारिक घोषणा गर्दै मञ्चमा उनीसँग हातमा हात मिलाए।

मधु अधिकारी मेयर बन्ने निश्चित रहेको कुरा केही दिनअघि नै थाहा भएको थियो। तर, आधिकारिकता भने अध्यक्षले दिए। अधिकारीको उम्मेदवारीमा छाप लागेपछि उनको राजनीतिको ‘दोस्रो इनिङ’ शुरू भएको विश्लेषकहरुको भनाइ छ। नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन गर्दा २०६० सालमा उनी राजाले गराएको नगरपालिकाको निर्वाचमा मेयर बनेका थिए। ९ महिनासम्म कायम भएको मेयरमा उनले अरू दलले भन्दा धेरै काम गरेको भन्ने गरेका छन्।

राप्रपाको केन्द्रीय तह हुँदै नारायणी अञ्चल प्रमुख बनेका अधिकारीले आफू केन्द्रीय नेतृत्वमा रहँदा पछिल्लो २०७० सालमा भएको संविधानसभा निर्वाचनमा राप्रपालाई मकवानपुरको उत्कृष्ट दल बनाउनका लागि महत्वपूर्ण भूमिका खेले।

मेयरको घोषणापछि अधिकारीले आफू मेयरमा विजयी भए समृद्ध हेटौैंडा निर्माणमा लागिपर्ने, प्रत्येक वडामा आधारभूत आवश्यकता सडक, खानेपानी, शिक्षाको विकास गर्ने, गरिबी निवारणका महत्वपूर्ण कार्यक्रमहरु ल्याउने बताए। राप्रपाले ड्रिम प्रोजेक्टका रूपमा चक्रपथ निर्माण, अस्पतालको स्तरोन्नति, सिटी बस सञ्चालनसहितका विषयलाई लिएको उनको भनाइ छ।
दोस्रो इनिङमा फेरि राम्रो प्रदर्शन गर्दै विजयी हुने सम्भावना रहेजस्तै अधिकारी पनि दोस्रो इनिङमा विजयी हुने लक्ष्यसाथ कम्मर कसेको बताउँछन्।

मकवानपुर उद्योग वाणिज्य संघका महासचिव र लामो समय नेतृत्व गरी नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्षको जिम्मेवारी राजु खतिवडालाई सुम्पिएका महेन्द्र राउतले आफू पनि मेयरको आकांक्षी भएको बताएका छन्।

राउतलाई धेरैले संघको आगामी अध्यक्षको उम्मेदवार बन्नसक्ने अड्कल गरेका थिए।

तर, धेरैको अड्कलविपरीत केही दिनअघिको एक कार्यक्रममा उनले हेटौंडा उपमहानगरको मेयरमा आकांक्षा राखे। कार्यक्रममा सहभागीले अपेक्षा नगरेको विषय एक्कासि राउतबाट आएपछि तरुण दलले गरेको कार्यक्रमस्थलमा सहभागी कांग्रेसवृत्तमा खासखुस शुरू भयो।
|
राउतलाई कसरी आयो त मेयर बन्ने सोच? राउतले आफूलाई व्यावसायिक क्षेत्रबाट मेयर बन्नुपर्ने सुझाव आइरहेको बताए। उनले आफू व्यावसायिक क्षेत्रमा रहेकाले व्यावसायिक हितमा आवाज उठाउने व्यक्ति हेटौंडाको मेयर हुनुपर्ने भन्दै आफूलाई यस्तो सुझाव आएको बताए।

उनले भने– ‘निजी क्षेत्रले व्यावसायिक चासोलाई ध्यानमा राखी मेयर उम्मेदवारका रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिइएको हो। तर, पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले पार्टीको निर्णय अनुसारमात्र अघि बढ्छु।’

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तहमा जिताउन युुवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्