एजेन्डाबिना चुनावको तयारी



विमल विष्ट, डोटी

आसन्न निर्वाचन नजिकिँदै गर्दा तीन ठूला दलहरुमा आकांक्षी उम्मेदवारहरुको हानथाप बढ्दै गएको छ। ठूला पार्टीले सबै गाउँपालिका र नगरपालिकामा आधिकारिक उम्मेदवारको निर्णय गर्न सकेका छैनन्।

बरु दलहरु तिनै आकांक्षीहरुको भिडसँगै बोकेर मत माग्न गाउँगाउँ पसेका छन्। तर गाउँ पसेका कुनै पनि दलसँग चुनावी एजेन्डा छैनन्।

न त कुनै आकांक्षीहरुले स्थानीय तहको विकास गर्ने खाका नै प्रस्तुत गरेका छन्। ‘सबै पार्टीमा पुरानै राजनीतिक संस्कार छ। केका लागि पार्टीले टिकट दिने? मतदाताहरुले राखेका मागबारे कसरी सम्बोधन गर्ने भनेर कसैले पनि एजेन्डा बनाएका छैनन्’, जिल्ला बार इकाइका अध्यक्ष गोविन्द जोशी भन्छन्– ‘यस्तो अवस्थामा मतदातालाई जसले भ्रम छर्छ, जसले तडकभडक गर्छ उसैको प्रभुत्व हुने भय हुन्छ।’ राजनीतिक मूल्य र आदर्श मान्ने आकांक्षीले लहडमा उम्मेदवारी दिन नहुने उनको विश्लेषण छ।

‘पहिला एजेन्डा हुनुपथ्र्यो, त्यसपछि उम्मेदवार छनोट गर्नुपर्ने हो’, जोशीले प्रस्ट्याए– ‘बीपी, मदन भण्डारी त्यही क्षमता र दूरदर्शिता भएकाले राजनीतिमा उदाएका हुन्, अहिले त्यस्ता व्यक्ति देख्न पाइएको छैन।’

डोटीमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका कुनै पनि दलहरुले स्पष्ट एजेन्डा प्रस्तुत गर्न सकेका छैनन्।

डोटी कांग्रेसले चुनावी घोषणाबारे अहिलेसम्म छलफल चलाएको छैन। सो पार्टीका सभापति प्रदीप देउवाले भने– ‘कुनै पनि आकांक्षीले पार्टीमा आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको छैन, टिकट मात्रै माग्न आउनुभएको छ, पार्टीले भने आर्थिक समृद्धिमा जोड दिएर वडा तहसम्म कसरी काम गर्ने भनेर सुझावहरु संकलन गरी मस्यौदा बनाइसकेको छ, अब बस्ने पार्टीको बैठकबाट अन्तिम टुंगो लगाउँदै छौं।’

एमालेले मस्यौदा समिति मात्र गठन गरेको छ। पार्टी अध्यक्ष चक्रबहादुर मल्लले आकांक्षीहरुले निर्वाचन जित्न सक्ने चुनावी रणनीति मात्र व्यक्त गरेको बताए। उनले भने– ‘मस्यौदा समिति बनाएर त्यसबारे छलफल भइरहेको छ, उम्मेदवारी दर्ता भएको दोस्रो दिनमा चुनावी घोषणापत्र सार्वजनिक गर्छौं।’ एकीकृत माओवादी केन्द्रले पनि चुनावी घोषणापत्र बाहिर ल्याउन सकेको छैन। पार्टीको नेतृत्वमा रहेकाले पनि आकांक्षीहरुसँग उनीहरुका विचार, धारणाभन्दा पनि चुनावी रणनीतिबारे मात्र छलफल चलाएका छन्।

नेताहरुले सस्तो लोकप्रियताका लागि नियमित गर्ने ‘सदावहार भाषण’ स्थानीय तहको निर्वाचनमा पनि दोहोर्याउँदै आएका छन्। यद्यपि मतदाताहरुले आकांक्षीहरुलाई चुनावी एजेन्डा र विकासप्रेमी नेताको खोजीमा दलहरुसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न मागहरु राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्