दोलखाका पाँच महिलाको प्रमुखमा दाबी



चिरञ्जीवी मास्के, दोलखा

स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीका तर्फबाट दोलखाका पाँच जना महिलाले प्रमुखमा दाबी गरेका छन्। गाउँ तथा नगरपालिकामा दुवै पदमा उम्मेदवारी दिँदा प्रमुख या उपप्रमुखमध्ये एक पद महिला अनिर्वाय गरेपछि दोलखामा पुरुषले प्रमुखमा मात्र दाबी गर्ने र महिलाले उपप्रमुखमा मात्र दाबी गर्ने अवस्था बनेको भए पनि पाँच जना महिलाले भने प्रमुखमा दाबी गरेका हुन्।
प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रका तर्फबाट गाउँ तथा नगरपालिकामा उम्मेदवारीका लागि आएको प्रस्तावित नामहरुमा अधिकांश ठाउँमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला रहेको भए पनि अहिलेसम्म आएका प्रस्तावित नामहरुमा प्रमुखमा पाँच जना महिला र उपप्रमुखमा एक जना पुरुष देखिएका छन्।
नेकपा एमालेका तर्फबाट कालिञ्चोक गाउँपालिकामा प्रमुखमा कालिका पाठकले दाबी गरेकी छन्। उनी एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय जन सांस्कृतिक महासंघको केन्द्रीय सचिव हुन्। त्यसै गरी नेकपा एमालेका नेता एवं महिला अधिकारकर्मी सिर्जना कार्कीले तामाकोसी गाउँपालिकामा प्रमुखको दाबी गरेकी छन् भने एमालेकै अर्की महिला नेता उर्मिला खड्काले पनि तामाकोसी गाउँपालिकामा प्रमुखको दाबी गरेकी छन्।

 


त्यसै गरी बिगु गाउँपालिकामा पनि एमाले नेता गोमा केसीले प्रमुखमा दाबी गरेकी छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन महिला संघ दोलखाको सभापति कृष्णकुमारी खड्काले पनि बिगु गाउँपालिकाको प्रमुखमा दाबी गरेको नेपाली कांग्रेस दोलखाको सचिव सन्तोष रिमालले बताए।
माओेवादी केन्द्रको नेता रीता रिमालले कालिञ्चोक गाउँपालिकामा प्रमुखको आकांक्षा राखेको भए पनि उनको आधिकारी प्रस्ताव नआएको माओवादी केन्द्रका एक नेताले बताए।
उनी कालिञ्चोक गाउँपालिकामा उपप्रमुख बन्ने सम्भावना रहेको ती नेताको भनाइ छ। त्यसै गरी कालिञ्चोक गाउँपालिकामा एमालेका चित्रप्रसाद भण्डारीले उपप्रमुखमा दाबी गरेका छन्। जिल्लाभरि उपप्रमुखमा दाबी गर्ने भण्डारी अहिलेसम्म एकमात्र पुरुष हुन्।
कालिञ्चोक गाउँपालिकामा प्रमुखको दाबी गरेकी एमाले नेता कालिका पाठक आफूले लामो समयदेखि पार्टीमा काम गरेको र स्थानीय तहमा महिलाको नेतृत्वमा उत्कृष्ट काम हुने जनताको अपेक्षाका कारण आफूले प्रमुखमा दाबी गरेको बताउँछिन्। अधिकांश महिलाले उपप्रमुखमा दाबी गर्नुको कारणबारे बताउँदै कालिका भन्छिन्– ‘धेरैलाई प्रमुख पुरुषका लागि र उपप्रमुख महिलाको लागि भन्ने भ्रम छ। त्यसैले अधिकांश महिलाले उपप्रमुखमा दाबी गरिरहेका छन्।’
तामाकोसी गाउँपालिकामा प्रमुखको दाबी गर्ने एमाले नेता सिर्जना कार्की पनि आफू योग्य र पार्टीको इमानदार कार्यकर्ता भएकाले प्रमुखमा दाबी गरेको बताउँछिन्। सधैं विकास र अधिकारको पक्षमा काम गरेकाले पार्टीले मूल्याङ्कन गरेर प्रमुखमा आफूलाई उम्मेदवार बनाउने विश्वास लिएको कार्कीले बताइन्।
बिगु गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा दाबी गरेकी कांग्रेस नेता कृष्णकुमारी खड्का आफू सधैं गाउँमा बसेर जनताको पक्षमा काम गरिरहेको र पार्टीमा लामा समयदेखि सक्रिय रहेकाले आफूले प्रमुखमा दाबी गरेको बताउँछिन्।
सात गाउँपालिका र दुई नगरपालिका भएको दोलखा जिल्लामा प्रमुखमा महिलाहरुको दाबी न्यून रहनुले महिला नेतृत्व विकास भइनसकेको देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन्। अहिले गाउँपालिका तथा नगरपालिकाबाट उम्मेदवारको सिफारिस आइरहेको र केही दिनमा बैठक बसेर उम्मेदवारको नाम तय गरिने दलका नेताहरुले बताएका छन्।
नेकपा एमालेले जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकामा प्रमुख उपप्रमुख टुङ्ग्याएको भए पनि त्यसलाई सार्वजनिक गरेको छैन।
बाँकी गाउँपालिका र नगरपालिकामा भने स्थानीय कमिटीले वैशाख १० गते मतदानबाट टुङ्ग्याउने निर्णय एमालेले गरेको छ।

प्रतिक्रिया दिनुहोस्