म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएकोे क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगमा युनाइटेडले बेल्जियमको एन्डरलेक्टलाई अतिरिक्त समयमा २–१ ले हरायो।

योसँगै युनाइटेडले समग्रमा ३–२ को नतिजा आत्मसात गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

गत साता बेल्जियममा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो। जसको १०७औं मिनेटमा मराउने फेलाइनीको पास सदुपयोग गर्दै मार्कस रासफोर्डले गोल गरेपछि युनाइटेडको जित सम्भव भयो।

यसअघि खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ३२औं मिनेटमा एन्डरलेक्टका सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

लियोन सडन डेथमा भाग्यमानी
युरोपा लिगअन्तर्गत बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा हार बहोरे पनि फ्रेन्च टोली लियोन अन्तिम चारमा प्रवेश गर्न सफल भयो। उक्त खेलमा लियोनलाई टर्कीको बेसिक्टासले २–१ ले पराजित गरेपछि समग्रमा ३–३ को बराबरी नतिजा निस्केको थियो।

यसअघि सम्पन्न पहिलो लेगमा लियोनले बेसिक्टासलाई पनि समान गोल अन्तरले नै पराजित गरेको थियो। जसका कारण विजेताको छिनोफानोका लागि खेल टाइब्रेकरसम्म लम्बियो। जहाँ सडान डेथमा बेसिक्टासलाई ७–६ ले हराउँदै लियोन भाग्यमानी बन्यो।

यस्तै नेदरल्यान्ड्सको आयाक्स र स्पेनको सेल्टा भिगोले पनि अन्तिम चारमा स्थान पक्का गरेका छन्।

बिहीबार भएको खेलमा आयाक्सले जर्मनीको शाल्केलाई तथा सेल्टा भिगोेले जेन्कलाई समग्रमा समान ४–३ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरे।

प्रतिक्रिया दिनुहोस्