प्रदर्शनकारी किसानका बीचमा ट्रक छिर्दा २० जनाको मृत्यु



हैदरावाद, (एजेन्सी)

भारतको आन्ध्र प्रदेशमा प्रदर्शन गरिरहेका किसानका बीचमा एउटा ट्रक छिरेपछि भएको दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ।

प्रहरी थानाअगाडि किसानहरूको विरोध प्रदर्शन भइरहँदा प्रदर्शनकारीहरूको एउटा समूहमा तीव्र वेगमा एक ट्रक घुसेको आन्ध्र प्रदेशका प्रहरीले बताए।

तिरुपति शहरका प्रहरी प्रमुख जया लक्ष्मीले मारिने १४ जना करेन्ट लागेर मृत्यु भएको जानकारी दिइन्। ट्रकले बिजुलीको खम्बालाई ठक्कर दिएपछि बिजुलीको तार प्रदर्शनकारीहरूमाथि खसेको उनले बताइन्।

घाइते भएका १५ जनामा धेरैजसो करेन्टको झटकाले जलेका छन्। शुक्रबार चित्तुर जिलामा यरपेडु प्रहरी स्टेसनअगाडि भएको उक्त घटनामा अन्य थुप्रै घाइते भएका छन्। उक्त इलाकामा बालुवाको तस्करी रोक्न माग गर्दै मंगलपालेम गाउँमा किसानहरू प्रदर्शन गरिरहेका थिए।

तीव्र गतिमा आएको ट्रकले सबैभन्दा पहिला एक गाडी र बिजुलीको खम्बालाई ठोक्काएको र त्यसपछि भिडमा घुसेको प्रत्यक्षदर्शीहरूले बताए।

कालाहस्तीबाट तिरुपति गइरहेको उक्त ट्रकका चालकले नियन्त्रण गुमाएपछि उक्त दुर्घटना हुन पुगेको प्रहरीले बताए। तर स्थानीयले उक्त दुर्घटना जानीजानी गराइएको आरोप लगाएका छन्। चित्तुरका प्रहरी प्रमुख श्रीनिवासले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले घटनाप्रति अफसोच प्रकट गर्दै मारिएकाको परिवारलाई ५÷५ लाख रुपियाँ आर्थिक मद्दत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्