पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ: ट्रम्प



आक्रमणकारीको सनाखत

वासिङ्टन, (एजेन्सी)
बिहीबार एक जना बन्दुकधारीले फ्रान्सको राजधानी पेरिसमा एक प्रहरी अधिकारीलाई गोली प्रहार गरी हत्या गरेका छन्। ती आक्रमणकारीको कारमा छोडिएका कागजातको आधारमा उनको पहिचान भइसकेको फ्रेन्च अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमले पेरिसकै एक उपनगरमा बस्ने गरेका ती ३९ वर्षीय पुरुष इस्लामिक लडाकू हुनसक्ने जनाएका छन्। च्याम्पस एलिसिजमा सुरक्षा फौजद्वारा गोली हानेर मार्नुअघि उनले दुई जना प्रहरी अधिकृतलाई घाइते बनाएका थिए। फ्रेन्च टेलिभिजन स्टेसन बीएफएमटीभीले उनको कारमा एउटा पम्प एक्सन सटगन र चक्कुहरू फेला परेको दाबी गरेको छ।

सम्भवतः यसै घटनामा संलग्न रहेको आशंका गरिएका अर्को एक जना पुरुषले बेल्जियन प्रहरीसमक्ष आत्मसमर्पण गरेको बुझिएको छ।

कानुनी सूत्रलाई उद्धृत गर्दै रोयटर्सले फ्रेन्च प्रहरीले ती बन्दुकधारीको परिवारका तीन जना सदस्यलाई पनि हिरासतमा लिएको जनाएको छ।

फ्रान्सका प्रधानमन्त्री बर्नाड काजेनुभेले आइतबारको राष्ट्रपतीय चुनावलाई मध्यनजर राख्दै विशेष सुरक्षा इकाइहरूलगायत सम्पूर्ण सुरक्षा फौज परिचालन गरिएको बताएका छन्। आपत्कालीन सुरक्षा बैठकपछि उनले कुनै पनि हालतमा राष्ट्रको मूलभूत प्रजातान्त्रिक प्रक्रियालाई प्रभावित हुन नदिने बताएका छन्।
फ्रान्सको गृहमन्त्रालयका प्रवक्ता पियर्रे हेनरी ब्रान्डेटले एउटा कारबाट बाहिरिएका एक व्यक्तिले स्वचालित हतियारबाट एउटा बसमा गोली चलाएको र एक जना प्रहरीलाई मारेर भाग्ने क्रममा उनले चलाएको गोली लागेर अन्य दुई जना प्रहरी घाइते भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको राजधानी पेरिसमा भएको खतरनाक आक्रमणले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताएका छन्। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।

अमेरिकी राष्ट्रपतिले फ्रान्समा आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई तोड्दै ट्वीट गरेका छन्– ‘पेरिसमा भएको पछिल्लो आतंकवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ।’ उक्त घटना घटेको केही घण्टापछि नै ट्रम्पले ट्वीट गरेका थिए।

सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन्। पछिल्ला दुई वर्षको अन्तरमा यस्तै आक्रमणमा २ सय ३० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चारजना उम्मेदवारमध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि पूर्वनिर्धारित चुनावसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्