समयअगाडि चुनावमा जाने मेको प्रस्ताव संसद्बाट पारित



लन्डन, (एजेन्सी)
मध्यावधि चुनावमा जाने बेलायती प्रधानमन्त्री टेरिजा मेको फैसला बेलायतको प्रतिनिधि सभा हाउस अफ कमन्समा दुई तिहाइभन्दा धेरै मतले पारित भएको छ।

सदनमा भएको मतदानमा प्रस्तावका समर्थनमा ५ सय २२ मत परेको थियो भने विरोधमा १३ मत मात्र परेको थियो।

प्रधानमन्त्रीको प्रस्तावलाई विपक्षी लेबोर र लिबरल डेमोक्र्याटिक पार्टीले पनि समर्थन गरेको छ। टेरिजा मेले ताजा चुनावबाट बे्रक्सिटका विषयमा उनलाई थप बल मिल्ने बताएकी थिइन्।

साविक अर्को चुनाव सन् २०२० मा हुनुपर्ने थियो तर फिक्स्ड टर्म पार्लियामेन्ट एक्टअनुसार दुई तिहाइ सांसदको समर्थन रहेमा त्यसको अगाडि नै चुनाव गराउन सक्छ। मेले संसद्मा जुनमा ब्रेक्सिट वार्ताको चरण शुरू हुनुपूर्व चुनावमा जाने अवसर भएको र उक्त प्रक्रियालाई सफलतापूर्वक पूरा गर्नका लागि देशलाई बलियो नेतृत्वको आवश्यकता भएको बताएकी थिइन्।

युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गर्नका लागि बेलायतसँग दुई वर्षको समय छ। टेरिजाले आगामी चुनावमा जित आफ्नो हुने अपेक्षा गरेकी छिन्।

युरोपेली संघको सदस्यता कायम राख्ने वा नराख्ने भन्ने विषयमा जनमतसंग्रहपछि गत वर्षको जुलाईमा टेरिजा मे प्रधानमन्त्री बनेकी थिइन्। जनमत संग्रहमा ईयूबाट बाहिरिन पक्षमा नतिजा आएपछि तात्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिएका थिए। ईयूबाट बेलायतको बहिर्गमन प्रक्रियालाई विज्ञहरूले अत्यन्त जटिल मानेका छन्। बेलायतभित्रै स्कटल्यान्डले यसको विपक्षमा मतदान गरेका थिए भने अझै पनि उसले उक्त जनमत संग्रहको कार्यान्वयनमा जान नहुने जोड दिइरहेको छ।

बेलायतले ईयूबाट बाहिरिने प्रक्रियालाई अगाडि बढाएपछि स्कटल्यान्डले आफू बेलायतबाट अलग्गिने आवाजलाई पुनः उठाइरहेको छ।

समयअगाडि नै चुनावमा जाने आफ्नो फैसलाको रक्षा गर्दै उनले सांसदहरूलाई भने– ‘ब्रेक्सिट वार्ता सबैभन्दा संवेदनशील महत्वपूर्ण चरण सन् २०१८ को अन्त्यतिर वा सन् २०१९ को शुरूमा हुने र त्यतिबेला आम चुनावको तयारीमा जानुपर्ने बाध्यता हुन्छ।

त्यतिबेला देशलाई चुनावी मोडमा जानु गलत हुनेछ।’

प्रतिक्रिया दिनुहोस्