अरुणको आतंक



पानी विस्तारै खुले पनि एक्कासि बाँध फुटेमा खतरा उत्पन्न हुने डर, सुनसरीका स्थानीय बासिन्दा पनि सतर्क

इन्द्र गिरी, संखुवासभा

संखुवासभाको वरुण नदीमा आएको बाढीले हटियाको स्याकसिलास्थित अरुण नदीमा ५० फुटभन्दा गहिरो बाँध बनेको छ। बाँध बनेपछि संखुवासभाबासी आतंकित बनेका छन्। कुनै पनि बेला अरुण नदीले बाँध फुटाउन सक्ने कारण स्थानीय बासिन्दा आतंकित बनेका हुन्।

भित्तातिरबाट नदीको पानी सामान्य बगिरहेको भए पनि बाँध एकैपटक फुटेको अवस्थामा खतरा हुने बताइएको छ।

गत बिहीबार बेलुका ४ बजे एक्कासि बरुण नदीमा सुख्खा हिमपहिरो आई बगाएर ल्याएको ढुंगा माटोले अरुण नदीलाई छेकेपछि अरुणमा ताल बनेको हो। अरुण नदी ३ सय मिटर चौडाइ र १ किलोमिटिर लम्बाइभन्दा बढी क्षेत्रफलमा ताल बनेको छ। पानीको बहावले धार परिवर्तन गरी भित्तातर्फबाट अरुण नदी बगेको हो।
पानीको बहाव नदीको भित्ताबाट पहिलेकै अनुपातमा बगिरहेको भए पनि कुनै पनि बेला बाँधलाई अरुण नदीको बहावले फुटाउन सक्ने खतरा रहेको भोटखोला गाउँ कार्यपालिकाका निमित्त कार्यकारी महेन्द्र पराजुलीले बताउनुभयो।
जिल्लाकै हटियाको बरुण नदीमाथिबाट आएको सुखा हिउँपहिरोले खोला थुनिँदा एक्कासि बाढी आएको घटनास्थलमा सेनाको हेलिकोप्टरमा पुग्नुभएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बताउनुभयो। उहाँले बरुण र अरुणको दोभानभन्दा २५ किलो मिटरमाथि हिमपहिरो गई नदी थुनिएको र एक्कासि नदी खोल्दा ठूलो बाढी आएको हुन सक्ने बताउनुभयो।
त्यसै गरी हेलिकोप्टरबाट शुक्रबार नै पुग्नुभएका खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले पहिरो गई नदीले बगाएर ल्याएको ढुंगामाटोले अरुण नदी छेकी बाँध बनेको र कुनै पनि बेला फुट्न सक्ने खतरा रहेकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो।

उहाँले तत्कालै बाढीले बनाएको तालको पानी निकास गर्न नसकिए अरुण नदी किनाराका बस्ती ठूलो जोखिममा रहेको बताउनुभयो।

बाढीले स्याकसिला–४ मा ३ घरमा क्षति पुर्याएको छ भने ७ घर उच्च जोखिममा रहेका छन। यता अरूण नदी किनारमा रहेका बासिन्दा पनि त्यतिकै उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी शिवराज जोसीले बताउनुभयो। उहाले कुनै पनि बेला बाँध फुटन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो।
शुक्रबार नै बाढीबाट विस्थापित १० घर परिवारलाई रेडक्रसले तत्काल राहत वितरण गरेको छ भने बाढीले पुर्याएको क्षति र बाढीेले बनाएको तालको राज्य मन्त्रीलगायत गृह मन्त्रालयका सहसचिव कृष्ण राउत र जिउलोजिस्ट विस्वराज सिलवालले निरीक्षण गर्नुभएको थियो।

बाढीसंगै माटो मिसिएको लेदो पानीले अरूण नदिका लाखौं माछासमेत मरेका छन्।

यसैबीच सुनसरी संवाददाताका अनुसार अरूण नदीमा बनेको बाँध एकैपटक फुटेमा सप्तकोशीमा पनि पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्