सरकार–मधेसी दल सहमतिनजिक



बीपी साह, काठमाडौं
रकारले दोस्रो पटक दर्ता गराएको संविधान संशोधनको प्रस्ताव परिमार्जन गर्ने भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम संशोधन प्रस्तावलाई परिमार्जन गरी पारित गराउने जिम्मेवारी सरकारले लिएको छ। तर सीमांकन, आयोगको कार्यसूची र स्थानीय निकायको संख्याका विषयमा शनिबार टुंगो लाग्ने जनाइएको छ। शनिबार नै निर्वाचन २ चरणमा गर्ने विषयमा टुंगो लाग्न सक्ने सम्बद्ध स्रोतले बताएको छ।

शुक्रबार साँझ सत्तारूढ दल र मधेसी मोर्चाबीच भएको वार्तामा सरकारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गराउने जिम्मेवारी लिएको हो। तर परिमार्जनको विषयवस्तुको अन्तिम टुंगो आज लाग्नेछ। सरकारले मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन गरेको खण्डमा मोर्चा निर्वाचनमा सहभागी हुने नेताहरूले विश्वास दिलाएका छन्। संशोधन परिमार्जनका लागि ४ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ। जसमा सरकारको पक्षबाट कृष्ण सिटौला र बुद्धिमान तामाङ छन् भने मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ छन्।

बैठकमा सहभागी मधेसी मोर्चाका नेता एवं राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य महेन्द्रराय यादवले वार्ता सकारात्मक भएको बताउँदै शनिबार सहमति हुनसक्ने सम्भावना रहेको बताउनुभयो। यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सत्तारूढ पक्ष लचक देखियो। परिमार्जनसहित संविधान संशोधन गर्ने उहाँहरू सहमत हुनुभयो। शनिबार कुरा मिल्ने जस्तो छ।’

बैठकमा मोर्चाले संविधान संशोधन, सीमांकन, स्थानीय निकायको संख्या र मधेस आन्दोलनका मुद्दा फिर्ताको कुरा उठाएको थियो। जसमा प्रधानमन्त्रीले परिमार्जनसहित संविधान संशोधन गराउने स्वीकार गर्नुभयो।

संविधानको धारा ७ पहिलो संशोधनअनुसार हुने सम्भावना रहेको छ भने धारा २७४ मा फेरबदल र सीमांकन आयोगलाई समावेशी बनाउने गरी सहमति हुने सम्भावना रहेको छ।

बैठकमा लचक हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो– ‘हामी परिमार्जनसहित संविधान संशोधन पारित गराउने विश्वास दिलाउँछौं। तपाईंहरू निर्वाचनमा सहभागी हुने विश्वास दिलाउनुहोस्। मधेसमा जनसंख्याका आधारमा तत्कालै स्थानीय निकायको पुनर्संरचना पनि गराउन तयार छु। केही व्यवधानहरू छन्। मुद्दा फिर्ताका विषयमा प्रक्रिया अगाडि बढाइएको छ। तपाईंहरू ढुक्क हुनुस्।’

बैठकपछि राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकार लचक भएको देखिए पनि ठोस सहमति हुन नसकेको बताउनुभयो। लालले भन्नुभयो– ‘सरकारले सबै माग पूरा गर्छु भनेको छ। यसअघि पनि यही कुरा भनेको थियो तर धोका दिएको थियो। आज पनि परिमार्जनसहित संविधान संशोधन गर्ने बताएको छ। सीमांकन आयोगले ३ महिनाभित्र प्रदेशको सीमाको टुंगो लगाउने कुरा पनि भएको छ। सरकारले स्थानीय निकायको संख्या बढाउने पनि स्वीकार गरेको छ। तर हामीले विश्वास गर्ने आधार छैन।’

बैठकपछि मोर्चाका नेता राजेन्द्र महतोले छलफल सकारात्मक भएको तर ठोस सहमति हुन नसकेको बताउँदै शनिबार पुनः छलफल हुने जानकारी दिनुभयो। उहाँले शनिबार दिउँसो २ बजे छलफल गरेर अन्तिम निष्कर्ष आउने बताउनुभयो। निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने प्रश्नमा महतोले सरकारले मोर्चाको माग पूरा गरेको खण्डमा निर्वाचनमा सहभागी हुने बताउनुभयो। तर महतोले मोर्चालाई नजरअन्दाज गरी हुने निर्वाचन बिथोल्न आफूहरू तयार रहेको जिकिर गर्नुभयो।

शुक्रबार बिहान र साँझ गरी २ पटक सत्तारूढ दल र मोर्चाबीच छलफल भएको थियो। शनिबार दिउँसो पुनः छलफल गरी सहमति हुने सत्तापक्षका नेताहरूले विश्वास व्यक्त गरेका छन्। उनीहरूले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन तयार रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्