तनहुँ हाइड्रोपावरद्वारा थप मुआब्जा



नेपाल समाचारपत्र
काठमाडौं
नहुँ जलविद्युत् आयोजनाको जलशाय निर्माण गर्दा डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि आयोजनाका प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले थप मुआब्जा प्रदान गरेको छ। १४० मेगावाटको उक्त आयोजना निर्माणका निम्ति सरकारले चालू आर्थिक वर्षमा मुआब्जा वितरणका लागि ४२ करोड रुपियाँ विनियोजन गरेकोमध्ये बिहीबारसम्म २१ करोड १० लाख रुपियाँ वितरण गरिएको कम्पनीले जनाएको छ। यसअघि १५ करोड ६८ लाख रुपियाँ मुआब्जा वितरण गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणको सब्सिडालिरी कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत फागुन ५ गतेबाट मुआब्जा वितरण शुरू गरेको थियो। बिहीबारमात्रै ५ करोड ४२ लाख रुपियाँ मुआब्जा वितरण गरिएको छ। डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति बितरण गरिएको हो।

जलशायबाट डुवान क्षेत्रमा पर्ने करिब एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। यसका लागि करिव ६० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, रिसिङ रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन्।

जग्गा प्राप्ति ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहँुका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षमा गत २३ माघमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनको डुवान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो। मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका आधारमा दर तय गरी मुआब्जा निर्धारण समिति समक्ष प्रतिवेदन पेस गरेको थियो। सोही प्रतिवेदनका आधारमा समितिले प्रतिरोपनी दुई लाखदेखि आठ लाख रुपियाँका दरले मुआब्जा निर्धारण गरेको थियो।

आयोजनाको १४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्ने छ। आयोजनाको जलशाय बाँधको माथिल्लो तटमा करिब २५ किलोमिटर फैलने छ। काहुँ शिवपुरको कुनौटेमा भूमिगत विद्युत् गृह रहने छ। सेती नदीको दायाँ किनार हुँदै ७ दशमलब ४ मिटर व्यासको १२०३ मिटर सुरुङमार्फत बाँधभन्दा करिब ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरिने छ। विद्युत् गृहमा ७०⁄७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन्। विद्युत् उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत् पानीलाई पुनः सेती नदीमा खसालिने छ। ठेक्कापट्टका सम्पूर्ण काम २०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण शुरू गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माण २०७९ पुसको दोस्रो सातामा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

अहिले निर्माण पूर्वका काम भइरहेका छन्। आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी) को डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ। यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सब–स्टेसनसम्म ३७ किलोमिटर प्रसारणलाइनको निर्माण गरिने छ।

आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख करोड युनिट उत्पादन हुने छ। बढी बिजुली माग हुने हिउँदमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ। यो लागत निर्माण अवधिको ब्याज, प्रसारणलाइन निर्माण र ग्रामीण विद्युतीकरणसहित रहेको आयोजनाले जनाएको छ। आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैकको ८ करोड ५० लाख अमेरिकी डलर सहूलितपूर्ण ऋण लगानी रहने छ।

प्रतिक्रिया दिनुहोस्