एनसेलको नयाँ डेटा प्याक



काठमाडौं, (नेस)
एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकको मज्जा लिन सक्नेछन्।

नयाँ डेटा प्याक बिहीबारदेखि लागू भएको छ। इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत यसअघि ल्याइएको अफर समाप्त भएलगतै ल्याइएको यो योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले अब न्यूनतम ६ पैसा प्रतिएमबिसम्ममा डेटा सेवाको मज्जा लिन सक्नेछन्।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, विहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याकमध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकताअनुसार जतिपटक पनि खरिद गर्न सक्छन्।

अल टाइम डेटा प्याकअन्तर्गत १० रुपियाँमा २५ एमबी, २० रुपियाँमा ६० एमबी, सय रुपियाँमा तीन सय एमबी, १५० रुपियाँमा ६ सय एमबी र मात्र २५० रुपियाँमा १२ सय एमबी डेटा खरिद गर्न सक्नेछन्।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याकभन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन्। एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन्। उल्लेखित शुल्क सबै करसहित रहेको र यो अफर ९० दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्