बार्सिलोनाको युभेन्ट्ससँग केही लागेन



बार्सिलोनाको चुनौती क्वाटरफाइनलमै समाप्त पार्दै इटालियन सिरी ए क्लब युभेन्ट्सले यूएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ।

बुधबार राति भएको क्वार्टरफाइनल चरणको दोस्रो लेगमा बार्सिलोना र युभेन्ट्सले गोलरहित बराबरी खेलेपछि युभेन्ट्स समग्रमा ३–० को नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो। यसअघि टुरिनमा भएको पहिलो लेगको खेलमा ३–० को शानदार जित हात पारेको युभेन्ट्सलाई उक्त नतिजा नै अन्तिम चारमा पुग्न पर्याप्त बन्यो।

यससँगै युभेन्ट्सले बार्सिलोनासँग च्याम्पियन्स लिगको सिजन २०१४⁄१५ को फाइनलमा हारेको बदलासमेत लिएको छ। युभेन्ट्सले पछिल्लोपटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

बार्सिलोनाले यसअघि अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–० ले पराजित भएर पनि नतिजा उल्टाएर अन्तिम आठमा स्थान बनाएको थियो। दोस्रो लेगमा ६–१ को जित निकालेर ऐतिहासिक पुनरागमन गरेर अन्तिम आठमा स्थान बनाएको थियो। बार्सिलोनाले युभेन्ट्सविरुद्धको दोस्रो लेगमा पनि सोही नतिजा दोहोर्याउन सक्ने अपेक्षा गरिएको थियो। तर घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गरेको तीन दर्जनभन्दा बढी पोस्ट प्रहारमध्ये एउटा पनि गोलमा परिणत हुन सकेन।

लियोनल मेसी, लुइस स्वारेज तथा नेयमार सम्मिलित विश्वकै उत्कृष्ट अग्रपंक्तिबाट परिचित बार्सिलोना युभेन्ट्सका चर्चित डिफेन्डर जार्जियो चेल्लिनी र भेट्रान गोलरक्षक बुफोनका अगाडि फिक्का साबित बन्यो। जारी सिजनको च्याम्पियन्स लिगमा बुफोनले ९ मध्ये ७ खेलमा कुनै गोल बेहोरेन। उसले जम्मा दुई गोल मात्र बेहोरेको छ। योसँगै बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ।

मोनाको अन्तिम चारमा
बुधबार राति नै भएको अर्को खेलमा फ्रेन्च टोली मोनाको पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली मोनाकोले बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गरेको थियो। पहिलो लेगमा ३–२ को जित निकालेको मोनाको समग्रमा ६–३ ले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो। दोस्रो लेगमा मोनाकोलाई जित दिलाउन माप्पेले खेलको तेस्रो मिनेटमै पहिलो गोल गरेका थिए। यस्तै राडामेल फाल्काओले १७औं मिनेटमा गोल गरेपछि पहिलो हाफसम्म मोनाको दुई गोलले अघि रह्यो।

यता दोस्रो हाफ शुरू भएको चार मिनेट नबित्दै रियुसले एक गोल फर्काएपछि डर्टमण्डले खेलमा फर्किने छाँटकाँट देखाएको थियो। तर खेलको ८१औं मिनेटमा मोनाकोका जर्मेनले तेस्रो गोल गरेपछि डर्टमन्ड घुँडा टेक्न बाध्य बन्यो। यो समेत डर्टमन्ड च्याम्पियन्स लिगको नक आउट चरणका पछिल्ला १२ खेलमध्ये नवौंपटक पराजित भएको हो। यता मोनाको भने सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्