गणतन्त्रमा वैचारिक वरणी

रामप्रसाद गौतम

नेपालका अधिकांश जनता कुनै एक पार्टीको समर्थक भनेर पहिल्यै चिनिएको अवस्था छ। यसरी पछि कुनै लाभका पद पाउने अशा वा पार्टीगत संरक्षण पाउनको लागि कुनै राजनीतिक दलको नजिक हुने परिपाटीलाई वैचारिक वरणी भनिन्छ। यसरी उम्मेदवार वा घोषणापत्र जे–जस्तो भए पनि एउटै पार्टीलाई भोट हाल्ने गरी औंठाछाप लगाउने पद्धति देशको विकास र सम्पन्नताको लागि राम्रो वा नराम्रो हो, विश्लेषण गर्न जरुरी छ।

कसैलाई जागिर दिँदा उम्मेदवारको परीक्षा लिइन्छ, जसको योग्यता, प्राप्तांक र विनयशीलता बढी छ उसलाई नै छनोट गरिन्छ। तर चुनवमा कसैको क्षमता मापन गर्ने कुनै स्पष्ट आधार हुँदैन। संसदीय चुनवमा नीति निर्माणको लागि पढे–लेखेको र विनयशील तथा तार्किक व्यक्तिलाई जिताउँदा पुग्छ। तर स्थानीय निर्वाचनमा भोट दिने बेलामा उम्मेदवारका धेरै क्षमताको मापन गर्नुपर्ने हुन्छ। ऊ पढे–लेखेको विनयशील, सृजनशील त हुनु नै पर्दछ। त्यो भन्दा माथि उठेर स्थानीय क्षेत्रका आवश्यकता पहिचान गर्ने र आवश्यकताको वर्गीकरण गरी उपयुक्तलाई छनोट गर्न सक्ने नेता छान्नुपर्ने हुन्छ।

हामी प्रजातन्त्र तथा गणतन्त्रमा माथि पुग्यौं तर गणतन्त्रको यथोचित ऊर्जा उत्सर्जनमा जनताको तटस्थता अति आवश्यक हुन्छ भन्ने कुरामा अहिले पनि निकै पछाडि छौं। नेपालमा नेताहरुभन्दा जनता अमुक–अमुक पार्टीमा बाँडिने प्रचलन पुनः दोहोरिँदै छ। स्थानीय तहमा कुनै एउटा पार्टीको अति सक्षम उम्मेदवारले यसकारण हार्न सक्छ कि त्यहाँका जनता अमुक समयमा अमुक कारणले कुनै पार्टीसँग वरणी भएर बसेका हुन्छन्। यसरी आमजनता यो–यो पार्टीको भनेर पहिल्यै चिनिने र उम्मेदवार कमसल भए पनि तथा कथित आफ्नै पार्टीकोलाई भोट दिने प्रवृत्तिले नेपालको राजनीतिलाई प्रदूषित गर्न सक्छ। गणतन्त्रमा जनताको तटस्थता फुटबलमा रेफ्रीको तटस्थता जत्तिकै महत्वपूर्ण हुन्छ तर नेपालमा त्यो भैरहेको छैन।

गाउँ तथा टोलमा प्रायजसो नागरिक कुनै न कुनै रुपमा अमुक–अमुक पार्टीमा आबद्ध भएको अवस्था विद्यमान छ। यसले गर्दा भोलि स्थानीय निकायमा एउटा सफल, प्रबुद्ध र जागरुक उम्मेदवार यस कारण पराजित भैरहेको हुने कि त्यहाँका जनता अर्को पार्टीप्रति शुरुदेखि नै लोयल थिए। आज नेपालमा हेर्ने हो भने विभिन्न कर्मचारी, पेसागत संघसंगठन, अधिकांश गाउँका हुने–खानेहरु, वैदेशिक रोजगारमा गएकाहरु अमुक पार्टीसँग शुरुमै बाँधिएका हुनेछन्। यो अवस्थामा देशमा बँधुवा गाईजस्तो गणतन्त्रको विकास भैरहेको हुनेछ। चुनाव बडो निष्पक्ष भैरहेको छ तर कसले कति मतले जित्दै छ भन्ने कुरा शुरुमै निश्चित छ भन्ने अवस्था सृजना भयो भने गणतन्त्र कहाँ नै रह्यो र ?

प्रायः पार्टीले चुनावअघि नै त्यो क्षेत्र त हाम्रो पकेट एरिया हो, अर्थात् त्यो जात वा थर त हाम्रो भोट बैंक हो। त्यो ठाउँमा त हाम्रो निश्चित छ भन्नेजस्ता शब्द प्रयोग गरेको पाइन्छ। कसरी आँकलन गरिन्छ जनताको मन ? के जनतको वैचारिक धारणामा यी नेता तथा पार्टीहरुले वैचारिक ब्ल्याकमेलिङ त गरिरहेका छैनन् वा हामी जनता विविध कारणले पार्टीहरुको अघोषित निर्देशन निरीक्षण वा सुपरीक्षणको कारण एकातर्फ ढल्किन बाध्य भएका त छैनौं ? यदि छौं भने हाम्रो देशको आशातीत विकास असम्भव छ। प्रायोजित तरिकाले कहिल्यै पनि अति सक्षम छान्न सकिँदैन।

गणतन्त्र कुनै वाद, सिद्धान्त वा आस्थाका काँडेतारबाट घेरिनुहुँदैन । विकास सिद्धान्तले होइन, समय, श्रम, पुँजी र प्रविधिले गर्नुपर्दछ। स्थानीय निर्वाचनमा उम्मेदवारभित्र नेतृत्वक्षमता त चाहिन्छ नै, त्यो भन्दा बढी स्रोत पहिचान, स्रोत परिचालन र त्यसमा व्यक्तिगत तथा पारिवारिक निःस्वार्थता चाहिन्छ। अन्य शुद्धताको अतिरिक्त आर्थिक निःस्र्वाथता अति महत्वपूर्ण हुन्छ। यसबाहेक स्थानीय नेतामा व्यवस्थापकीय ज्ञान पनि आवश्यक हुन्छ।

संघीय सांसद र प्रदेशसभाको सांसदको भन्दा स्थानीय नेतामा बढी जिम्मेवारी हुन्छ। किनकि माथिल्लो तहका नेताले नीति निर्माण र आधारभूत निर्णय गरे मात्र पुग्छ। स्थानीय नेताले चाहिँ नीति निर्माण, कार्यान्वयन, अनुगमन, मूल्यांकन, नियन्त्रणजस्ता काम गर्नुपर्दछ। तसर्थ स्थानीय निकायमा व्यवस्थापकीय ज्ञान अति नै आवश्यक छ।

स्थानीय निकायको गन्तव्य निर्धारण, योजना निर्माण, योजना निर्माणमा सहमति जुटाउने प्रयास, कार्यान्वयन सन्दर्भमा आर्थिक पारदर्शिता, निर्देशनमा स्पष्टता र एकरुपता, स्थानीय स्रोत–साधनको अधिकतम सदुपयोगजस्ता काम गर्नका लागि स्थानीय तहले नितान्त गतिशील प्रवृत्तिको नेतृत्व छनोट गर्नुपर्ने आजको बाध्यताका माझमा हाम्रो वरणी भैसकेको मतले शुद्धता छनोट गर्न सक्ला कि नसक्ला ? अति वीचारणीय प्रश्न छ। आमजनता स्थायीरुपमा कांग्रेस, एमाले, माओवादी वा अमुक–अमुक यस्तै–यस्तै भैरहने प्रवृतिमा सुधार हुनै पर्दछ। होइन भने हामीले आस्था वा पार्टीको नाममा योग्यता र सक्षमता गुमाइरहेका हुनेछौं।

सन् २०१४ मा भारतमा भएको आमनिर्वाचनमा यसअघि निकै थोरै सिट भएको भाजपाले २८३ सिटमा जित हासिल गरेको थियो। पहिलो संविधानसभामा माओवादीले पनि अप्रत्याशित विजय प्राप्त गरेको थियो। त्यो सराहनीय मतदाता व्यवहार मानिन्छ।

जे होस्, पार्टीगत कार्टेलिङभन्दा अबको चुनावमा उम्मेदवारीय सक्षमताको आधारमा विशेष क्षमता भएका उम्मेदवार छान्नु सफल गणतन्त्रको परिचायक हुनेछ। नेपाली जनताले अबका दिनमा विगतको भीडझुन्डे र पार्टीकुण्डे मतप्रणालीलाई परास्त गरी स्पष्ट सन्तुलित व्यक्तिलाई मत दिनु आवश्यक छ। जसरी हजारौं भेडालाई एउटा सिंहले सहज नियन्त्रण गर्न सक्छ त्यसै गरी स्थानीय तहलाई नियन्त्रण गर्न सक्ने उम्मेदवारलाई कुनै आग्रह–पूर्वाग्रहविना जिताएर गाउँ विकासमा जुट्नु हामी सबैको कर्तव्य हो।

LEAVE A REPLY