काम कुरो एकातिर राज्यको ध्यान “हर्न”तिर



सुशील देवकोटा

बैशाख १ गतेदेखि हाम्रो देशमा सवारीसाधनले हर्न बजाउन नपाउने नियम लागु गरियो। यो एकदम राम्रो नियम हो। विश्वका धेरै विकसित मुलुकमा यस्तो नियम बनाइएको छ। झन् हाम्रो राजधानीमा चल्ने भाडाका सवारीसाधन विशेष गरि माइक्रो बसका अधिकांश चालकको व्यवहार सम्झिने हो भने त यो धेरै पहिले लागु गर्नुपर्ने नियम हो भन्ने लाग्छ। त्यसरी जथाभावी हर्न बजाउदा धेरैलाई बाधा पुगेको थियो भने ध्वनि प्रदुषण पनि अत्यधिक मात्रामा हुने गथ्र्यो। तसर्थ यो हर्न बजाउन नपाउने नियम एकदम राम्रो हो। तर नियम बनाउन जति सजिलो छ त्यसको कार्यान्वयन पक्ष त्यति नै असजिलो र असहज छ। नेपालको, खासगरी राजधानीको बाटोको अवस्था देख्ने जो–कोहीको मनमा पनि सबैभन्दा पहिला यो प्रश्न आउँछ कि यो नियम कत्तिको व्यावहारिक होला ?

राजधानीका अधिकांश ठाउँमा बाटोहरु धेरै साँघुरा छन्। एकपटक बाटो बिग्रियो भने त्यो बाटो फेरि कहिले मर्मत हुन्छ, त्यसको कुनै ठेगान हुदैन। ठाउँ–कुठाउँ बाटोमा बनेका खाल्डोले दुर्घटना भएको समचार दिनहुँजसो आइरहेका हुन्छन् भने ती बिग्रेका बाटोले सवारीसाधनको आयुसमेत घटाइरहेका छन्। वर्षातमा त्यहाँ पानी जमेपछि यो खुट्याउन गार्हो हुन्छ कि त्यो वास्तवमा बाटो हो कि पोखरी। यस्तो बाटोमा सवारीसाधन सहज तरिकाले चल्न सक्दैनन् र परिणाम ट्राफिक जाम हुन्छ र सवारीचालकहरु बाध्य भएर हर्न बजाउन थाल्छन्। तसर्थ, पहिला बाटोको यो अवस्थाको अन्त्य गर्नेतिर सोच्नुपर्ने होइन र ?

पैदल यात्रीलाई पेटीबाट हिँडन भनिन्छ। सुरक्षाको दृष्टिले यो भन्नु एकदम राम्रो कुरा हो। पैदल यात्रु पेटीबाट नै हिडनुपर्छ भन्ने कुरामा थप सजग बनाउनु आजको आवश्यकता पनि हो। तर राजधानीका कतिपय ठाउँ यस्ता छन्, जहाँ पेटी नै छैनन् र पैदल यात्रीसमेत सवारी चल्ने बाटोमा नै हिडन बाध्य छन्। यो अवस्थामा पैदल यात्रीलाई सजग बनाउन हर्न नबजाएर के मुखले कराउने त ?
कतिपय ठाउँमा सडक पेटीमा पसल राखिएका हुन्छन्, जसले गर्दा पैदल यात्रीलाई हिँडन कठिनाई भएको छ। त्यसरी पैदल यात्रीको लागि बनाइएको पेटीमा पसल थाप्न पाइदैन। यो नियम विपरित हो र यसलाई कडाइका साथ रोक्नै पर्छ। तर, त्यहाँ पसल थापेर जसले आफ्नो जीविकोपार्जन गरिरहेका छन् उनीहरुलाई पनि वैकल्पिक स्थान त दिनुपर्यो नि। यदि उनीहरुसंग पसल भाडामा लिएर व्यसाय गर्ने सामथ्र्य भए पक्कै त्यसरी सडक पेटीमा पसल थाप्दैनथे होलान्। उनीहरुको पनि गरिखाने र बाँच्न पाउने अधिकारको त संरक्षण हुनै पर्छ। बरु कतिपय पसल हुनेहरुले समेत आधा फुटपाथ ओगटने गरि आफ्ना पसलका सामान फिजाउँछन्। पेटीमा आफ्नो पसलको सूचना पाटी राख्छन्। पहिलो कार्वाही त उनीहरुलाई हुनुपर्यो नि। जसले फुटपाथमा आफ्नो व्यवसाय संचालन गरेका छन्, उनीहरुले बाध्यतामा नियम मिचेर त्यहाँ पसल थापेका छन् तर लुटेका, चोरेका वा भ्रष्टाचार गरेका त छैनन् नि। उल्टै उनीहरुले पसलमा भन्दा सस्तोमा सामान दिने भएकोले क्रेताहरुको पहिलो रोजाइ बन्छन् फुटपाथका पसलहरु। यसरी जब सडक पेटीमा व्यवसाय संचालन गरिन्छ तब पैदल यात्री सवारी चल्ने बाटोबाट हिडन बाध्य हुन्छन् र सवारी चालक हर्न बजाउन बाध्य हुन्छन्।

जे गरे पनि हुन्छ, जसरी हिडे पनि हुन्छ र जे बोले पनि हुन्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन त्यति सहज छैन। जनतालाई पनि अनुशासनमा बाँध्नु र अनुशासित राख्नु जरुरी छ। तर अरुलाई अनुशासन सिकाउनुभन्दा पहिला आफुले गर्नुपर्ने पूर्वतयारी त गर्नुपर्यो नि। सडकको अवस्था सुधार गर्नुपर्यो, ट्राफिक जाम नहुने अवस्था बनाउनुपर्यो, पेटी नभएका ठाउँमा पेटी बनाउनु पर्यो, पेटी भएका तर विविध कारणले सही उपयोग र उपभोग हुन नसकेको ठाउँलाई उपयोग र उपभोगयोग्य बनाउनुपर्यो। यी सबै काम एकै रातमा संभव छैनन्, क्रमशः गर्दै जाने हो। यो सबैले बुझेका छन्। पहिला आफुले गर्नुपर्ने कामहरु गर्ने त्यसपछि मात्रै हर्न बजाउन नपाइने, सवारीको गति तोकिएभन्दा तल वा माथि राख्न नपाइने जस्ता नियम बनाउँदा राम्रो होला।

राजधानीका जनतालाई यो नियम बनाउनेले गएर सोध्यो भने प्रायः सबैबाट उसले एउटै जवाफ पाउनेछ– पहिला राजधानीलाई बस्ने लायक त बनाइदेऊ। धुलो र धँुवा खान बाध्य बनाइएका राजधानीबासीको स्वास्थ्यमा यसले कति प्रतिकुल असर पारेको छ, त्यो कसैले सोचेको छ ? महँगी र कृत्रिम अभाव झेलेर नागरिक कसरी बाँचेका छन्, के कसैले यो बुझ्ने प्रयास गरेको छ ? पिउने पानीको अभावमा उनीहरु कति छटपटाएका छन् र पानीको व्यवस्था गर्न कति रात नसुती बिताएका छन् वा निद्रा मारेर उठेका छन्, यसको लेखाजोखा छ कसैसँग ? ध्वनि प्रदूषणले नेपालीलाई त्यति धेरै असर गरेको छैन जति राजनीतिमा भएको प्रदूषणले असर गरेको छ। राजनीतिमा राष्ट्र र जनताप्रति एकरत्ति पनि उत्तरदायी नभएका फोहोरी नेताहरु जम्मा भैदिनाले राष्ट्रकै स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। त्यसैले यदि सफा नै गर्नु छ भने पहिला फोहोरी राजनीतिलाई सफा गर्नुचाहिं जरुरी छ। आजको आवश्यकता भनेको चाहिँ यो हो।

प्रतिक्रिया दिनुहोस्