महालक्ष्मी नगरमा दलहरूको तयारी



आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ। उम्मेदवारहरुलाई विजयी बनाउन पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रेमलकुमार खनालको संयोजकत्वमा २९ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। त्यसै गरी निर्वाचन लक्षित विभिन्न ६ वटा उपसमितिसमेत गठन गरिएको छ।
प्रचारप्रसार उपसमिति, आर्थिक परिचालन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, मत सर्वेक्षण र विश्लेशण उपसमिति, जन परिचालन उपसमिति र घोषणापत्र लेखन उपसमिति गठन गरिएको छ। ती उपसमितिका संयोजकहरुमा क्रमशः चिरञ्जीवी आचार्य, नन्द न्यौपाने, शैलेन्द्र राउत, केदार केसी, सरला केसी र राम राउत रहेका छन्। नगरका प्रत्येक वडाका प्रत्येक टोल–टोलमा निर्वाचत लक्षित विविध कार्यक्रम भइरहेको र यसै हप्ताभित्र सवै वडामा वडा निर्वाचन परिचालन कार्यलय स्थापना गरिने संयोजक खनालले बताए।

साविकका इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु, लामाटार गाविस मिलाएर बनेको सो नगर १० वटा वडामा विभाजित छ। नगर निर्वाचनमा सबै पार्टीहरु आ–आफ्नो तयारीमा जुटिरहेका छन्। मुख्य प्रतिस्पर्धा भने एमाले, नेपाली कांग्रेस बीच हुने आँकलन गरिएको छ। तर, विगतको स्थानीय निर्वाचनमा साविकका ५ वटै गाविसमा एमाले विजयी भएको स्मरण गर्दै संयोजक खनालले दाबी गर्दै भने– ‘यस पटकको निर्वाचन र पार्टीले गरेको तयारीका आधारमा पनि एमाले अध्यधिक मतका साथ विजयी बन्नेछ।’ धेरैपछि हुन लागेको निर्वाचन विगतको परिणामसँग तुलना गर्न नमिल्ने अन्य पार्टीका कार्यकर्ता बताउँछन्। लुभुमा मुख्यतया कांग्रेस र माओवादी केन्द्र, लामाटारमा कांग्रेस, एमाले र माओवादी बीचमा प्रतिस्पर्धा हुने आँकलन गरिन थालिएको छ। पार्टी एकीकरणपछि नगरका सबै वडामा राप्रपाका कार्यकर्ता पनि निकै उत्साहित बनेका छन्।

टीकाथलीमा अन्य दलहरुभन्दा एमालेअघि देखिएको छ भने इमाडोलमा एमाले, राप्रपा र कांग्रेस बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। माओवादीको पकट मानिएको सिद्धिपुरमा माओवादी, कांग्रेस र एमाले बीचमा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। नगर मेयरको प्रतिस्पर्धामा एमालेबाट टीकाथलीका रामेश्वर श्रेष्ठ, लुभुका हरिगोविन्द श्रेष्ठ, इमाडोलबाट किशोर केसी, सूर्यबहादुर थापा र शैलेन्द्र राउत लविङमा जुटेका छन्। त्यसै गरी नेपाली कांग्रेसबाट महेश खड्का, पवनविक्रम थापा, गणेश सिलवाल, हीराबहादुर पौडेल र दिवाकर सिलवाल टिकटका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

खड्का २ नं. क्षेत्रका क्षेत्रीय सभापति हुन् भने थापा महाधिवेशन प्रतिनिधि हुन्। सिलवाल पूर्वक्षेत्रीय सभापति, पौडल पूर्वजिल्ला कोषाध्यक्ष र दिवाकर सिलवाल अहिलेका नगर सभापति हुन्। यसै साता सबै तहका आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गरेर अन्तिम टुंगो लगाउन जिल्लामा पठाएको सो पार्टीका क्षेत्रीय सभापति खड्काले बताए। माओवादी केन्द्रले भने सर्वसम्मतरूपमा उम्मेदवारहरुको टुंगो लगाउने तयारी गरेको छ। पार्टीका पोलिट ब्युरो सदस्य शिव कट्टेल मेयर र पार्टीमा लामो समयदेखि क्रियाशील लक्ष्मी सिंहलाई सर्वसम्मतरूपमा उपमेयरका लागि प्रस्ताव गरिएको सो पार्टीका नगर सहसंयोजक रामगोपाल सिंहले बताए। यही शनिबार सबै तहका उम्मेदवारहरुको सूची आधिकारिकरूपमा सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्